अन्तिम दिन साढे २४ सयभन्दा तल झर्‍यो सेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर बजार साढे २४ सयको विन्दुभन्दा तल झरेको छ । यो साताको अन्तिम दिन सेयर बजार ओरालै लागेर बन्द भएको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ५.८४ अंकले ओरालो लागेर २४४९.९७ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स भने ०.४३ अंकले उकालो लागेर ४६५.२३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.२४ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स भने ०.०९ प्रतिशतले उकालो लागेको छ । नेप्से बुधबार पनि ५३.०९ अंकले ओरालो लागेको थियो ।

बिहीबार दिनभर २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता सेयर ४१ हजार ३८९ पटक खरिदबिक्री हुँदा दुई अर्ब ६७ करोड ३३ लाख आठ हजार ७९२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार आठ करोड ८५ लाख ५२ हजार रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ त्यसैगरी, अपि पावर, नबिल बैंक र महालक्ष्मी विकास बैंकको आठ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

अन्तिम दिन कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६४ अंक, अन्यको ०.२२ अंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०६ अंक बढेको छ। यस दिन ओरालो लागेका सबै उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.७६ प्रतिशत घटेको छ भने वित्त उपसमूहको परिसूचक ०.७५ प्रतिशत र जलविद्युतको ०.६१ प्रतिशत घटेको छ ।

सामूदायिक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । त्यसैगरी, एनआईसी एशिया लघुवित्तर घलेम्दी हाइड्रोको शेयरमूल्य ४ प्रतिशतभन्दा घटेको छ ।

सिनर्जी पावरको सेयरमूल्य र लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य ४ प्रतिशतभन्दा बढी बढेको बिहीबार सपोर्ट माइक्रोफाइनान्स, सिंगटी हाइड्रो इनर्जी, बोटलर्स नेपाल र यूनिभर्सल पावर कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ ।


SHARE THIS