मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनका रूपमा बदल्नुपर्ने बताउनुभएको छ । मुलुकमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग बृद्धि गर्नुपर्नेमा उहाँको जोड थियो ।

अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको बुधबार राजधानीमा आयोजित ४५ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले 

भन्नुभयो – ‘अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेशनमा बदल्नुपर्छ । यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।’

अटोमोबाइल्स क्षेत्रले राजस्वमा पुर्‍याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी फरक तरिकाले थप योगदान गर्न व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारीत राजस्व योगदानलाई परिवर्तन गर्न उहाँले आग्रह गर्नुभयो ।

अहिले अटोमोबाइल्स क्षेत्रले पुुर्‍याउँदै आएको २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्‍याउन व्यवसायीहरुलाई आग्रह गर्दै उहाँले भन्नुुभयो – ‘आजको दिनमा जहाँ पनि प्रविधि पुर्‍याउन सकिन्छ । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’

उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टीलगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने प्रतिवद्घता समेत मन्त्री शर्माले व्यक्त गर्नुभयो ।

आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिंदै उहाँले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीतिको आवश्यकता औंल्याउँदै भन्नुुभयो – ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव पनि छैन ।’ विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने भन्दै उहाँले भन्नुुभयो – ‘स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिन्छ । प्रतिबन्ध सम्भव छैन । तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

अर्थमन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिंदै खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव रहेको पनि उहाँले बताउनुभयो ।

अटोमोबाइल्समा गाडी उत्पादन मात्र नभएर धेरै किसिमका उद्योगहरूको सम्भावना रहेकोतर्फ औंल्याउँदै अर्थमन्त्री शर्माले अटोभित्र टायर, लुब्रिकेन्ट्स, ब्याट्रीलगायतका उद्योगको सम्भावनातर्फ व्यवसायीहरुको ध्यानाकर्षण गराउनुुभयो । यस्ता उद्योगहरू स्थापना गरी आत्मनिर्भर हुन बनाउनुपर्ने नीति तथा आवश्यक सुधारका लागि सुझाव दिन समेत मन्त्री शर्माले अटो मोबाइल्स व्यवसायीसँग उहाँले आग्रह गर्नुभयो ।


SHARE THIS