सेयर बजारमा चार दिनमै २३२ अंकको सुधार, नेप्से २६ सय नजिक, बीमा कम्पनीमा आकर्षण

काठमाडौं । सेयर बजार पछिल्लो चार दिनमै २३२ अंकले माथि लागेको छ । निरन्तर घटेर २३ सयको विन्दुमा पुगेको सेयर बजार निरन्तर सुधारिँदै फेरी २६ सयको विन्दु नजिक पुगेको हो ।

केही दिनदेखि निरन्तर सुधारिएको सेयर बजारले २६ सयको विन्दु पछ्याएको छ । यो साताको पहिलो दिन बजार मापक नेप्से परिसूचक ७१.२० अंकले उकालो लागेर २५९१.४२ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.३८ अंकले उकालो लागेर ४८२.७४ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा आइतबारको सेयर बजार २.८२ प्रतिशतले र सेन्सेटिभ इन्डेक्स पनि १.१३ प्रतिशतले उकालो लागेको छ ।

साताको अन्तिम दिन पनि सेयर बजार उकालै लागेर बन्द भएको थियो । गत मङ्गलबारदेखि बढ्न थालेको नेप्सेले अन्तिम दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ ।

विहीबार सेयर बजार मापक नेप्से परिसूचक १२.५३ अंकले उकालो लागेर २५२०.२३ को विन्दुमा पुगेर अडिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ०.१० अंकले उकालो लागेर ४७७.३६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा अन्तिम दिनको सेयर बजार ०.५० प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले उकालो लागेको थियो । पछिल्लो तीन दिन सेयर बजार परिसूचक नेप्से १६१ अंक बढीले उकालो लागेको थियो । पछिल्लो चार दिनमा मात्रै सेयर बजार परिसूचक नेप्से २३२ अंक बढीले उकालो लागेको छ । 

आइतबार दिनभर २३१ कम्पनीहरुको ८६ लाख एक हजार ९५६ कित्ता सेयर ६२ हजार २१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब १७ करोड ३२ लाख ५०३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६८ करोड रुपियाँले बढी हो । विहीबार नेप्से उकालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको थियो । बुधबार चार अर्ब ५२ करोडको सेयर खरिदबिक्री भएकोमा बिहीबार २२९ कम्पनीको ५९ हजार आठ पटकको कारोबारमा चार अर्ब ४९ करोड दुई लाख ६६ हजार रुपियाँ बराबरको ८३ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको थियो  ।

आइतबार ३२ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, हिमालयन डिष्टिलरीको २६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार २० भन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेशनल लाइफ, युनाइटेड, एभरेष्ट, प्रिमियर, प्रभु, प्रुडेन्सियल, लुम्बिनी जनरल, एशियन लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, रिलायबल लाइफ, प्रभु लाइफ, ज्योति लाइफ, सानिमा लाइफ इन्स्योरेन्स र मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्य १० प्रतिशत बढेको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी दुई उपसमूहको परिसूचक ओरालो लागेको छ । बीमा कम्पनीहरुको सेयरमा विशेष आकर्षण देखिएको आइतबार जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९.७८ प्रतिशतले उकालो लागेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक ८.१७ प्रतिशतले उकालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ५.५३ प्रतिशत, लघुवित्तको ३.५६ प्रतिशत, लगानीको ३.०१ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक साढे दुई प्रतिशतले बढेको छ । विकास बैंक, होटल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने कारोबारमा आएको वित्त उपसमूहको परिसूचक १.१२ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS