मह जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं । नेपाल टेलिकमले कम्पनीको ब्रान्ड एम्बेसडरमा वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, कलाकारद्वय मह र मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले कला र हाँस्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई कम्पनीको ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउँदा गौरवान्वित महसुस गरेको भन्दै कम्पनीका विभिन्न सेवासुविधाबारेमा आमजनतालाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरको भूमिका सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । ब्रान्ड एम्बेसडरद्वय महले स्वदेशी लगानीको मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीको ब्रान्ड एम्बेसडर हुन पाएकोमा आफूहरूले गौरवान्वित महसुस गरिरहेको बताउनुभएको थियो ।  हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएपछि भविष्यमा सम्झौता अवधि थप गर्न सकिने कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी गराउनुभएको छ ।


SHARE THIS