सेयर बजार फेरी ओरालो बाटोमा, नेप्से ४९.१८ अंकले ओरालो

काठमाडौं । अघिल्लो साताको अन्तिम दिन सुधारिएर बन्द भएको सेयर बजार फेरी ओरालो बाटोमा लागेको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ४९ अंकले ओरालो लागेको छ भने कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सुधारिएको छ ।

पहिलो दिनको नेप्से ४९.१८ अंकले ओरालो लागेर ३०४४.८६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ८.५७ अंकले ओरालो लागेर ५६२.८८ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा आइतबारको सेयर बजार १.५९ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.५० प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो साता दुई दिनसम्म निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिनमा भने सुधार भएको थियो ।

बिहीबार नेप्से परिसूचक १७.६० अङ्कले उकालो लागेर ३०९४.०५ को विन्दुमा पुगेको थियो । ‘क’ वर्ग मापक सेन्सेटिभ इन्डेक्स पनि ३.४० अङ्कले उकालो लागेर ५१७.३९ को विन्दुमा पुगेको थियो । आइतबार दिनभर २२७ कम्पनीहरुको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर एक लाख ५९ हजार १३७ पटक खरिदबिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा दुई अर्ब २३ करोड रुपियाँले कमी हो ।

कुल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ रुपियाँको कारोबार भएको थियो ।

आइतबार एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । अरुण काबेलीको ८७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । वित्त उपसमूहको परिसूचक ०.६७ प्रतिशत बढेको आइतबार कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशत घटेको छ । बैंकिङ, व्यापार, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

पहिलो दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्य साढे सात प्रतिशत बढेको छ । जानकी फाइनान्स, सिभिल लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य छ प्रतिशतभन्दा बढी बढेको छ ।

रुरु जलविद्युतको सेयरमूल्य १६६ रुपियाँ २० पैसा घटेर १४९५.८० रुपियाँमा अन्तिम कारोबार भएको छ भने  सिंगटी हाइड्रोको सेयरमूल्य सात प्रतिशतभन्दा बढीले घटेको छ ।


SHARE THIS