असार मसान्तमा बजार पुँजीकरण ४०१० अर्ब ९६ करोड, सूचीकृत कम्पनीहरूको संख्या २१९

काठमाडौं । गत असार मसान्तमा धितोपत्र बजार पँुजीकरण ४०१० अर्ब ९६ करोड रुपियाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७९२ अर्ब ७६ करोड रुपियाँ रहेको थियो । २०७८ असारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, पाँच लगानी कम्पनी, चार व्यापारीक संस्था र तीन अन्य समूहका रहेका छन् ।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.९ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीकोहिस्सा ८.४ प्रतिशत, लगानी कम्पनीको ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.७ प्रतिशत, होटेलको हिस्सा १.५ प्रतिशत, व्यापारीक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

नेप्सेमा २०७८ असारसम्ममा सूचीकृत पाँच अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य ५७३ अर्ब २४ करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा दुई खर्ब ८४ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ४६ अर्ब ७४ करोड रुपियाँ बराबरको बोनस सेयर, ४२ अर्ब १७ करोड बराबरको साधारण सेयर, १८ अर्ब ५५ करोड रुपियाँ बराबरको डिबेन्चर, छ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड र पाँच अर्ब ५२ करोड रुपियाँ बराबरको हकप्रद सेयर गरी कुल चार खर्ब चार अर्ब ७७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब चार करोड बराबरको डिबेन्चर, १५ अर्ब १८ करोड बराबरको साधारण सेयर, १४ अर्ब पाँच करोड बराबरको हकप्रद सेयर र नौ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल ६१ अर्ब ६७ करोड रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशन गर्न अनुमति दिएको छ ।


SHARE THIS