राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा मरासिनीद्वारा शपथ

काठमाडौँ । अर्थ मन्त्रालयका नवनियुक्त सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.समक्ष राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

बुधबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराउनुभएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS