छ अर्ब लगानीमा दुहबी र भैरहवामा पनि अस्पताल बनाउँदै नर्भिक हस्पिटल

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम (परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गर्नुभयो ।

उहाँले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको विषयमा जानकारी दिनुभयो ।

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गरिनेछ । थापाथलीमा दुई अर्ब रुपियाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरिनेछ । सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुनेछ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले दुई सय शैयाको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्नेछ ।

यस्तै, आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा एक सय शैया तथा सुनसरीको दुहबीमा पनि एक सय शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउनेछ । यी दुबै अस्पताल निर्माणमा तीन अर्ब रुपियाँभन्दा बढी लगानी हुनेछ ।

यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ ।

पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि छ अर्ब बढी लगानी थप्ने र दई हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिनुभयो ।

नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक बसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सम्भवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’

उहाँले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोंच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पार्नुभयो । ‘मेरो सपना अझ ठूलो हुँदैछ ।’ उहाँले थप्नुभयो – ‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’

सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोल्नुभएको थियो ।

सो अवसरमा नर्भिकको नयाँ सञ्चालक समितिको परिचय निवर्तमान अध्यक्ष बसन्त चौधरीले गराउनुभएको थियो भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराउनुभएको थियो ।


SHARE THIS