नेपाल उद्योग परिसङ्घमा अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति



काठमाडौँ । नेपाल उद्योग परिसङ्घको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हाल्नुभएको छ । परिसङ्घको १८औँ वार्षिक साधारण सभाबाट अग्रवाल परिसङ्घको अध्यक्ष चयन हुनुभएको हो ।

अध्यक्षका रूपमा सतिशकुमार मोरको दुई वर्षे कार्यकाल सकिएपछि अग्रवालको अध्यक्षतामा नयाँ समिति बनेको हो । यसअघि उहाँ परिसङ्घको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

अग्रवाल यसअघि परिसङ्घअन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसक्नुभएको छ भने परिसङ्घ मातहतको पूर्वाधार विकास समितिको सभापतिको जिम्मेवारी पूरा गरिसक्नुभएको छ ।

बुधबार सम्पन्न परिसङ्घको साधारण सभाले ३७ जना राष्ट्रिय परिषद् सदस्य पनि चयन गरेको छ । त्यसमध्येबाट सात जना उपाध्यक्ष चयन व्यवस्था छ । परिसङ्घ विधानअनुसार सात उपाध्यक्षमध्येबाटै एक वरिष्ठ उपाध्यक्षको चयन हुन्छ ।

राष्ट्रिय परिषद्मा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुणकुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी चयन हुनुभएको छ । त्यस्तैगरी विकास दुगड, राजेशकुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, विक्रम सिङ्घानिया, दिलीप अग्रवाल, शरदकुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य सङ्घाई चयन हुनुभएको परिसङ्घले जनाएको छ ।

यसैगरी प्रतिष्ठानतर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने राष्ट्रिय परिषद् सदस्यमा चयन भएको जनाइएको छ । प्रतिष्ठानबाट राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा शिवाकोटी, अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएको परिसङ्घले जनाएको छ ।

उता संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र वसन्तबहादुर चन्द राष्ट्रिय परिषद् सदस्यमा निर्विरोध निर्वाचित भएको परिसङ्घले जनाएको छ ।


SHARE THIS