सेयर बजारले तोड्यो अहिलेसम्मकै रेकर्ड, परिसूचक ३०५८ मा पुग्दा कारोबार पनि १४ अर्ब ३० करोडमाथि

काठमाडौँ । सेयर बजारले अहिलेसम्मकै रेकर्ड तोडेको छ । नेप्से परिसूचक ३०५८ मा पुग्दा कारोबार रकमले पनि १४ अर्ब ३० करोड नाघेको छ ।

साताको पहिलो दिन सेयर अहिलेसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको हो । रेकर्ड ब्रेकको बाटोमा रहेको सेयर बजार आइतबार ३०५८ को विन्दुमा पुगेको हो । आइतबार भएको नेप्सेको बृद्घिलाई कारोबार रकमले पनि साथ दिएको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.३१ अंकले उकालो लागेर ३०५८.६३ को विन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स पनि ११.७४ अंकले उकालो लाग्दा ५७४.०२ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा पहिलो दिनको सेयर बजार १.८१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.०९ प्रतिशतले उकालो लागेको छ ।

यस अघि नेप्सेले जेठ ३१ गते नेप्से उच्च बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । सो दिन नेप्से ३०२५.८३ विन्दुमा पुगेको थियो ।

आइतबार २२३ कम्पनीको एक लाख ४० हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार रुपियाँ बराबरको चार करोड ४१ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

पहिलो दिन कारोबार रकमका आधारमा साढे ४९ करोडको शेयर कारोबार भएर नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । ग्लोबल आईएमई बैंकको ४९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । एनसीसी, एनआईसी एशिया बैंक, युनाइटेड मोदी हाइड्रोपावर, अरुण काबेली पावर, र नेशनल हाइड्रोको ३० करोड बढीको सेयर कारोबारमा आएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी दुई उपसमूहको परिसूचक ओरालो लागेको छ । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको पहिलो दिन जलविद्युत उपसमूहको परिसूचक २.३९ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.१४ प्रतिशत र लघुवित्तको १.५८ प्रतिशत बढेको छ । कारोबारमा आएको म्युचुअल फण्डको सूचक सर्वाधिक १.२९ प्रतिशत घटेको छ ।

आइतबार हिमालयन उर्जा, सपोर्ट लघुवित्त, राधी विद्युत, कालिका पावर, पञ्चकन्या माइ हाइड्रोपावर, युनिभर्सल पावर, जोशी हाइड्रोपावर, बिशाल बजार कम्पनी र ङादी ग्रुप पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

पहिलो दिन अधिकांश म्युचुअल फण्डको इकाईमूल्य घटेको छ । कुमारी इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी डिबेञ्चर ८६, र ओरियन्टल होटलको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।


SHARE THIS