बजार पूँजीकरण ४१ खर्ब ७९ अर्ब रुपियाँ पुग्यो, यो सातामा एक खर्ब ६८ अर्ब रुपियाँले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जको बजार पूँजीकरण एक खर्ब ६८ अर्ब रुपियाँले बढेको छ । गत साता ४० खर्ब १० अर्ब रुपियाँ रहेको बजार पूँजीकरण यस साता एक खर्ब ६८ अर्ब रुपियाँ बढेर ४१ खर्ब ७९ अर्ब रुपियाँ पुगेको हो ।

स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा बजार पूँजीकरणका आधारमा नबिल बैंक पहिलो स्थानमा आएको छ । यस अघि नेपाल टेलिकम धेरैजसो समय बजार पूँजीकरणका आधारमा पहिलो स्थानमा रहँदै आएको थियो ।

बिहीबार नबिल बैंकको सेयर मूल्यमा आएको सुधारसँगै बजार पूँजीकरणमा पहिलो स्थानमा उक्लिएको हो । बिहीबार नेपाल टेलिकमको प्रतिकित्ता सेयर मूल्य छ रुपियाँले घट्दा नबिल बैंकको पाँच रुपियाँले बढेको थियो । दुई कम्पनीको सेयर मूल्यमा आएको उतारचढावकाबीच नबिलले पूँजीकरणमा अगाडी आएको हो ।

बिहीबारको अन्तिम पटकको कारोबारका आधारमा नबिल बैंकको बजार पूँजीकरण एक खर्ब ९६ अर्ब ६७ करोड ५५ लाख ११ हजार रुपियाँ कायम भएको छ । १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता सेयर सूचीकरण भएको बैंकको प्रतिकित्ता सेयर मूल्य एक हजार ४५९ रुपियाँ छ ।

पूँजीकरणमा पहिलो स्थानबाट दोस्रो स्थानमा झरेको नेपाल टेलिकमको १५ करोड कित्ता सेयर सूचीकरण भएकोमा प्रतिकित्ता सेयर मूल्य एक हजार २९६ रुपियाँ छ । जसको बजार पूँजीकरण एक खर्ब ९४ अर्ब ४० करोड रुपियाँ छ । बजार पूँजीकरणमा नबिल टेलिकमभन्दा दुई अर्ब २७ करोड रुपियाँले अगाडि छ ।

बजार पूँजीकरणसँगै यस साता कारोबार रकममा पनि सुधार आएको छ । गत साता पाँच कारोबार दिनमा ३७ अर्ब ३८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता चार कारोबार दिनमा ४२ अर्ब ४६ करोडको सेयर कारोबार भएको छ । गत साता दैनिक औषतमा साढे सात अर्ब रुपियाँ बराबरको सेयर खरिदबिक्री भएकोमा यो साता दैनिक औषतमा साढे १० अर्बको सेयर कारोबार भएको छ ।

यो साता नेप्से परिसूचक पनि ४.१९ प्रतिशत बढेको छ । अघिल्लो साता २८८३.३८ विन्दुमा बन्द भएको नेप्से यस साता १२०.९३ अंक बढेर ३००४.३१ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स २०.९३ अंक बढेर ५६२.२४ विन्दुमा पुगेको छ ।

यो साता कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १६.३२ प्रतिशत बढेको छ । गत साता १५.७५ विन्दु रहेको यो उपसमूहको परिसूचक यस साता २.५७ अंक बढेर १८.३२ विन्दुमा पुगेको छ । अंकका आधारमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको यो साता जीवन बीमा उपसमूहको परिसूचक  ५४०.८६ अंक बढेको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक सबैभन्दा कम अर्थात ०.३० प्रतिशत बढेको छ ।


SHARE THIS