बैंकिङ प्रणालीमा कुनै समस्या छैन : राष्ट्र बैङ्क

काठमाडौँ । नेपालको बैङ्किङ क्षेत्र बुधबारदेखि ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ’ भनेजस्तै भएको छ । दुई वर्षअघि चिनियाँ नागरिकले काठमाडौँका विभिन्न एटीएम बुथबाट झन्डै दुई करोड रुपियाँ रकम ह्याकिङ गरेर झिकेपछि झस्किएका बैङ्कका ग्राहक र सरोकारवाला बुधबार बेलुकीदेखि फेरि त्रासमा परेका हुन् ।

त्यसबेला बैङ्क तथा वित्तीय संस्थाको सुरक्षा प्रणालीमाथि नै प्रश्न मात्रै उठेन, ग्राहकमा पनि तनाव बढेको थियो ।

बुधबार साँझ नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको बैङ्किङ सिस्टम ह्याक गर्ने चेतावनीपूर्ण सन्देश सामाजिक सञ्जालमा भाइरल भएपछि त्यस्तै वातावरण बनेको हो । बुधबार साँझ नेपाल राष्ट्र बैङ्कका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैङ्कका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको इमेलको स्क्रिनसट धेरैका हातहातमा पुगेपछि यसले सर्वसाधारणलाई आतङ्कित बनाएको थियो ।

बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको थियो भने राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकाललाई अन्तर्राष्ट्रिय नम्बरबाट फोनसमेत आएको थियो ।

आफूलाई ह्याकर बताउने समूहले नेपाल राष्ट्र बैङ्कसहित १५ वटा वाणिज्य बैङ्कको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको थियो भने बिहीबार बिहान कलसमेत गरेको थियो ।

भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएपछि तत्काल नेपाल राष्ट्र बैङ्क र विभिन्न बैङ्कको सिस्टम चेक गर्दा सिस्टम सुरक्षित रहेको र ह्याक नभएको तथा डराउनुपर्ने अवस्था नभएको राष्ट्र बैङ्कका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताउनुभयो ।

म्यासेज पठाएर आतङ्कित बनाउने को हो र किन पठाएको हो ? भन्ने विषयमा राष्ट्र बैङ्कले अध्ययन गरिरहेको उहाँको भनाइ छ तर कसले पठाएको हो भन्ने अहिलेसम्म केही खुलेको छैन ।

राष्ट्र बैङ्कका सहप्रवक्ता पोखरेलले आफूलाई ह्याकरको रेड अलर्टसहितको फोन भएकाले फोन रिसिभ नगरेको बताउनुभयो ।

ह्याकरले पठाएको इमेलको स्क्रिनसटमा नेपाल राष्ट्र बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, माछापुच्छे« बैङ्क, एनएमबी बैङ्क, एनआईसी एसिया बैङ्क, बैङ्क अफ काठमाण्डू, सिटिजन्स बैङ्क इन्टरनेसनल, सानिमा बैङ्क, नेपाल एसबीआई, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट र हिमालय बैङ्कको नाम उल्लेख गरिएको छ ।

साथै सोही सन्देशमा आफूले पठाएको सन्देशलाई हलुका रूपमा नलिन ह्याकरले चेतावनी पनि दिएको छ ।

राष्ट्र बैङ्क अध्ययनको प्रक्रियामा रहेको भन्दै भाइरल भएको इमेलको स्क्रिनसटमा लेख्ने शैली माथिपट्टि तीन जनाको इमेल ठेगाना लेखिएको जानकारी दिँदै भन्नुभयो, “तल टेक्स्ट बडी पनि छ तर ती इमेलवालाको इमेलमा यो गएको छैन । यसबाट के बुझिन्छ भने आतङ्कित बनाउनका लागि यो सबै गरिएको छ ।”

इमेल लेखिएको शैलीले त्यो टेक्स्ट तयार गरिए पनि इमेल पठाइएको छैन । इमेल नै गरियो भने त्यो आईपी एड्रेसको माध्यमबाट इमेल गर्ने मान्छे समातिइहाल्छ । जसका कारण सामाजिक सञ्जालको प्रयोग गरिएको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालबाट छताछुल्ल भएर मानिसहरूको हातहातमा पुगेको त्यो म्यासेजसँगै आफूहरूले इमेलको इनबक्स चेक गर्दा त्यस्तो बेहोराको इमेल त्यहाँ उल्लेख भएका इमेल प्रापकको इमेल ठेगानमा केही पनि नआएको राष्ट्र बैङ्कका सहप्रवक्ता पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार ह्याकरले भाइरल गराएको इमेलको स्क्रिनसटमा दुईवटा इमेल सही र एउटा इमेल ठेगाना गलत छ । त्यसैले यो जानेर, बुझेर नै इमेल नगरिएको हो । 

बुधबार बेलुका यो सन्देशबाट आतङ्कित बनाइएपछि राष्ट्र बैङ्कले तत्काल बैङ्क तथा वित्तीय संस्थाको सिस्टमलाई चेक गर्न लगाएको थियो । राष्ट्र बैङ्कको सिस्टम पनि चेक गर्दा चुस्तदुरुस्त देखिएको उहाँको भनाइ छ ।

बिहीबार बिहान पनि कारोबार सुरु हुनुअघि अगाडि नै सिस्टम के कस्तो छ चेक गरी जानकारी गराउन सर्कुलर गरेका र केही समस्या नभएको र डाटाहरू पनि यथावत् रहेको पाइएको बताइएको छ तर पनि राष्ट्र बैङ्कको आईटी डिपार्टमेन्टले पनि केही अध्ययन गरिरहेको जनाइएको छ । राष्ट्र बैङ्कले नेपाल प्रहरीको साइबर ब्युरोलाई पनि परिचालन गर्ने जनाएको छ । गोरखापत्रबाट


SHARE THIS