चालु आर्थिक वर्षको ११ महिनामा १२.६ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह

काठमाडौं  । चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बढेको छ । जेठसम्म आठ खर्ब ७० अर्ब ९४ करोड रुपियाँ रेमिट्यान्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले बढेर सात अर्ब ३९ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

श्रम स्वीकृति लिनेको संख्या भने घट्यो

यता, जेठ महिना सम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।


SHARE THIS