अनलाइन युजर आईडी लिने १७ गुणाले बढे, डिम्याट खाता ३५ लाख नाघ्यो, सार्वजनिक निष्काशनमा १८ लाखसम्मको आवेदन

काठमाडौं । धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि युजर आईडी लिनेको संख्यामा करिब १७ गुणाले बढेको छ । अनलाइन कारोबारका लागि २०७७ असारमा करिब ३५ हजारले युजर आईडी लिएकोमा एक वषमा उक्त संख्यामा उल्लेखनीय बृद्धि (करिब १७ गुणा भन्दा बढी) भई करिब छ लाख ६० हजार रहेको छ । औसतमा छ लाख लगानीकर्ताहरू कारोबारमा सक्रिय रहेको देखिएको छ । यसले पूँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको बोर्डको भनाई छ ।

गत वर्षको असारसम्ममा करिब १७ लाखको संख्यामा रहेको डिम्याट खाताको संख्यामा शत प्रतिशतको बृद्धि भई हाल ३५ लाख नाघेको छ । पछिल्लो समय धितोपत्र बजार सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढदै गएको हो ।

एक वर्षकै अवधिमा मेरो सेयर खाताको संख्या साढे तीन गुणाले बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको संख्या समेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणा भन्दा बढिले बृद्धि भई हाल करिब २६ लाख पुगिसकेको छ ।

धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकोमा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेको बोर्डको भनाई छ ।

एक वर्षको अवधिमा डिम्याट खाता खोल्नेको संख्या शतप्रतिशत बढेको बोर्डले जनाएको छ । २०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेको थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जेठ २७ गतेसम्मको तथ्याङ्क अनुसार ३५ लाख ४९ हजार २४७ जनाले डिम्याट खाता खोलेको खोलेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

ब्रोकरको लाइसेन्स पनि थपिँदै

बोर्डले सेयर बजारमा काम गर्न ब्रोकरको लाइसेन्स थप गर्न लागेको छ । बोर्डका अनुसार सात वटै  प्रदेशमा पाँच÷पाँच वटा गरी कूल ३५ वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी भइरहेको छ ।

नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने उद्देश्य सहित उक्त कार्यलाई अघि बढाएको जनाउँदै बोर्डले हालको परिवेशमा ब्रोकरलाई लाइसेन्स दिने विषयलाई जोड दिन जरुरी रहेकोले यसलाई प्राथमिकतामा राखेको हो ।

नयाँ स्टक एक्सचेञ्जको सम्भावना

कोभिड–१९ को महामारीबाट उत्पन्न विषम परिस्थितिका बीच धितोपत्र बजारमा देखिएको बृद्धि भएको परिप्रेक्ष्यमा बोर्डबाट धितोपत्र बजारको स्थिति, अर्थतन्त्रको अवस्था, नेप्से सूचकांक तथा ब्याजदर, आपूर्ति र मार्जिन ऋणको सम्बन्ध, हालसाल मूल्यमा उतारचढाव देखिएको जनाएको छ ।

केही कम्पनीहरुको विश्लेषण, धितोपत्र बजार परिसूचक बढनुका कारण तथा धितोपत्र बजारमा गर्नुपर्ने कार्यहरु जस्ता विषयवस्तुहरु समेटी अध्ययन गरिएको बोर्डले जनाएको छ । यस्तो प्रतिवेदनहरु जानकारीका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा समेत पेश गर्ने गरिएको छ ।

बोर्डले वित्तीय समावेशिता तथा म्युनिसीपल बण्ड सम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न गरिएकोमा सोमा सुधार गरी अन्तिम रुप दिने कार्य अगाडि बढेको छ ।

पूँजी परिचालन २८ वर्षकै इतिहासमा उच्च

चालु आर्थिक वर्षको प्रथम दश महिनामा नै धितोपत्रको प्राथमिक बजार मार्फत करिब ७८ अर्ब रुपियाँ बराबरको पूँजी परिचालन भएको छ जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो ।

प्राथमिक बजारमार्फत् समाजमा छरिएर रहेको स–सानो बचत संकलन गरी दीर्घकालीन पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पु¥याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको जनाएको छ ।


SHARE THIS