चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण ३७५८ अर्ब ९८ करोड रुपियाँ पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तमा धितोपत्र बजार पूँजीकरण ३७५८ अर्ब ९८ करोड रुपियाँ पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७९२ अर्ब ७६ करोड रुपियाँ रहेको थियो ।

समिक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३८ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, पाँच होटल, चार व्यापारीक संस्था, चार लगानी कम्पनी र तीन अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ६९.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ७.९ प्रतिशत, लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारीक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ चैतसम्ममा सूचीकृत पाँच अर्ब ६७ करोड शेयरको चुक्ता मूल्य ५५७ अर्ब ७० करोड रुपियाँ रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को नौ महिनासम्ममा दुई खर्ब १९ अर्ब ९५ करोड रुपियाँ बराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोड रुपियाँ बराबरको साधारण शेयर, ३८ अर्ब ११ करोड रुपियाँ बराबरको बोनस शेयर, १४ अर्ब ५५ करोड रुपियाँ बराबरको डिबेन्चर, तीन अर्ब ९२ करोड रुपियाँ बराबरको हकप्रद शेयर र दुई अर्ब ८५ करोड रुपियाँ बराबरको म्युचुअल फण्ड गरी कुल तीन खर्ब १८ अर्ब ८५ करोड रुपियाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड रुपियाँ बराबरको साधारण शेयर, ११ अर्ब ८४ करोड रुपियाँ बराबरको डिबेन्चर, तीन अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र दुई अर्ब ४८ करोड बराबरको हकप्रद शेयर गरी कुल २९ अर्ब २१ करोड रुपियाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।


SHARE THIS