राष्ट्र बैंकको सर्वेक्षण भन्यो – 'आर्थिक गतिविधि चलायमान बनाउन उद्योगीलाई बैंकको सहयोग आवश्यक’

काठमाडौं । हालसम्म देशको उद्योग व्यवसाय गत वर्षको तुलनामा सुधार भएपनि जारी निशेधाज्ञा र कोरोना संक्रमण लम्बिए थप समस्या पर्ने नेपाल राष्ट्र बैंकका अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले आर्थिक गतिविधिहरु चलायमान नबनाए कोरोनाको दोस्रो लहरले देशको अर्थतन्त्रलाई संकटतर्फ धकल्ने  निश्कर्ष निकालेको हो ।

हाल कोभिड १९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको सर्वेक्षणको नतिजाअनुसार २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन तथा करोबारको अवस्थामा सुधार आएको  सर्वेक्षणले जनाएको छ । अझै पनि कोभिड १९ पूर्व २०७६ फागुनको अवस्थामा उद्योग/व्यवसायहरु पुग्न नसकेको उल्लेख गर्दै सर्वेक्षणले यस्तो अवस्थामा उद्योग/व्यवसायहरु अझै प्रभावकारी रुपमा चलायमान नभए अर्थतन्त्र झन पछि धकलिने निष्कर्ष निकालेको हो ।

राष्ट्र बैंकले २०७८ बैशाख महिनाको ५ गतेदेखि १४ गतेसम्म टेलिफोन अन्तरर्वार्ता मार्फत सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा २०७७ असारमा सहभागी ६७४ उत्तरदाताहरुमध्ये करिब ८४ प्रतिशत अर्थात ५६२ जना उद्योगी तथा व्यवसायीहरुले सहभागिता जनाएका छन् ।

सर्वेक्षणका अनुसार हालसम्म देशको उद्योग व्यवसाय गत वर्षको तुलनामा सुधार भएपनि यही अवस्था लम्बिए थप समस्या पर्ने देखिएको छ ।

कोभिड महामारीपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत मात्र उद्योग व्यवसायहरु पूर्णरुपमा सञ्चालनमा रहेकोमा २०७८ बैशाखमा बढेर ८१.२ प्रतिशत पुगेको देखिएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागी विद्युत, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका शत प्रतिशत उद्योग तथा व्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ भने हालसम्म पनि ४.२ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आउन नसकेको प्रतिवेदनले देखाएको छ ।

सर्वेक्षण नतिजा अनुसार २०७७ असारको तुलनामा २०७८ वैशाखमा उद्योग/व्यवसाय सञ्चालनमा उल्लेख्य सुधार आएको देखिएको छ । गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत उल्लेख्य सुधार आएको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।

पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा उल्लेख्य सुधार आएको देखाएको हो ।

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ वैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको सर्वेक्षणमा उल्लेख  छ । मझौला तथा ठूला उद्योग/व्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ । पूर्ण रुपमा सञ्चालनमा रहेपनि मझौला तथा ठूला उद्योग/व्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौति हुन गएको अनुमान सर्वेक्षण छ ।

सर्वेक्षणमा २०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब ज्याला खर्च बृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ वैशाखमा आइपुग्दा ८८.५ प्रतिशत पुगेको देखिएको छ । २०७७ असारको तुलनामा खानी तथा उत्खनन क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब ज्याला खर्च बढेको पाइएको छ भने विद्युत, ग्याँस तथा पानी र सञ्चार क्षेत्रका उद्योग÷व्यवसायहरुको औसत तलब ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।

सर्वेक्षणका अनुसार उद्योगीहरुले आफुहरुलाई सहयोग नगरेको गुनासो गरेका छन् । निषेधाज्ञामा उद्योगीहरुले मुख्य पाँच वटा समस्याहरु देखाएका छन् । बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको, बैंकको किस्ता तिर्न कठिनाइ भएको र बैंकको सहयोग प्राप्त नभएको लगायतका समस्याहरु उद्योगीहरुले राखेको सर्वेक्षणमा उल्लेख छ ।

गत वर्षको लकडाउनपछि सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेर चालु खर्च धान्न समस्या रहेको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग/व्यवसाय पुनः शुरु गर्न नचाहेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले बन्द उद्योग/व्यवसायहरु पुनः सञ्चालनमा ल्याउन समस्यामा रहेका उद्यमीहरुलाई लक्षित पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

गत २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा पनि सुधार आएको देखिएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन/कारोबार रहेकोमा २०७८ वैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको अध्ययनले देखाएको छ ।

गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोबारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरु भन्दा सबैभन्दा कम हो ।


SHARE THIS