अब बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई ब्याजदर परिवर्तनबारे जानकारी दिनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई तत्काल उपलब्ध गराउनुपर्ने भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामा गरेका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन परिपत्र जारी गर्दै ब्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याजदर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई एसएमएस÷इमेलमार्फत् तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको निर्देशनमा उल्लेख छ ।

विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान अद्यावधिक गरी / गराई सो को पुष्टि गर्ने व्यवस्था गरी निष्क्रिय खाता सुचारु गर्न पनि राष्ट्र बैंकको निर्देशन छ ।

बोलकबोलमार्फत संकलन गरिएको मुद्दति निक्षेपको ब्याजमा कडाइ गरेको राष्ट्र बैंकले यो ब्याजदर एक पटक प्रकाशित भएपछि तीन महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था गरेको छ । विभिन्न प्रकारका बचत खातामा दिइने ब्याजदरको अन्तर दुई प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाइने तथा  ब्याजदर परिवर्तन गर्दा सबै प्रकृतिको बचत खातालाई समान रुपमा लागू हुने गरी ब्याजदर समायोजन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।


SHARE THIS