सेयर बजार साढे २६ सयको विन्दुमाथि, कारोबार रकम तीन अर्बले बढ्यो



काठमाडौं । फेरी सुधारको लय समाएको सेयर बजार साढे २६ सयको विन्दुमाथि लागेको छ । अघिल्लो साताको अन्तिम दिन सुधारको संकेत गर्दै बन्द भएको बजार यो साताको पहिलो दिन पनि उच्च अंकले उकालो लागेको हो ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ५४ अंकले उकालो लाग्दा २६६५.१० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ८.७८ अंकले उकालो लाग्दा ४७७.८१ के विन्दुमा पुगेर अडिएको छ । समग्रमा पहिलो दिनको नेप्से २.०७ प्रतिशत र सोन्सेटिभ इन्डेक्स १.८७ प्रतिशतले उकालो लागेको छ । यस दिनको कारोबार रकममा पनि तीन अर्ब रुपियाँले बृद्घि भएको छ ।

उतारचढावपूर्ण रहेको सेयर बजार साताको अन्तिम दिन भने दोहोरो अंकले उकालो लागेर बन्द भएको थियो । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २५.८२ अंकले उकालो लागेर २६११.१० को विन्दुमा पुगेर अडिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.९१ ऋंकले उकालो लागेर ४६९.०२ को विन्दुमा पुगेर अडिएको थियो । समग्रमा अन्तिम दिनको नेप्से एक प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.८४ प्रतिशतले उकालो लागेको थियो ।

पहिलो दिन कुल २२६ कम्पनीहरुको एक करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर ८३ हजार ४०४ पटक खरिदबिक्री हुँदा सात अर्ब ३६ करोड आठ लाख ५०० रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा तीन अर्ब रुपियाँले बढी हो ।

बिहीबार दिनभर २१७ कम्पनीहरुको ९८ लाख १८ हजार ४६ कित्ता सेयर ५० हजार ६७३ पटक खरिदबिक्री हुँदा चार अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा चार करोडले बढी हो ।

आइतबार ११ लाख ४२ हजार ७५३ कित्ता शेयर ४२ करोड दुई लाख ४३ हजार रुपियाँमा कारोबार भएर नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक सर्वाधिक सेयर कारोबार गर्नेमध्येको अग्रपँक्तिमा परेको छ । यसैगरी पुनर्बीमा कम्पनीको ४० करोड, टेलिकमको ३२ करोड, निफ्रा २४ करोड, हिमालयन डिष्टिलरीको २१ करोड र शिवम् सिमेन्टको २० करोड बढीको शेयर कारोबार भएको छ । अपर तामाकोशी, नेपाल लाइफ, सानिमा बैंक र अरुण भ्यालीको पनि उच्च कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.६३ प्रतिशत बढेको छ भने जीवन बीमा, निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको व्यापार, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

अन्तिम दिन कारोबारमा आएका १३ उपसमूहका सूचकहरुमध्ये ११ उपसमूहका सूचकहरु एकालो लागेका थिए भने बाँकी दुई लगानी र होटल तथा पर्यटन ओरालो लागेका थिए । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको थियो भने जलविद्युत उपसमूहको परिसूचक ३.२१ प्रतिशत बढेको थियो ।

आइतबारको बजारमा महिला लघुवित्त, बिशाल बजार, र सिंगटी हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । यी तीनवटै कम्पनीमा केही दिनयता सर्किट लेबलमा नै बृद्धि हुँदै आइरहेको थियो ।

यसैगरी शतप्रतिशतले खुद नाफा बढाएको आकर्षक वित्तीय विवरण सार्वजनिक गरेपछि सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य ८.७०, सिनर्जी पावर डेभलपमेन्ट ७.१४, युनिभर्सल पावर ७.१०, जानकी फाइनान्स ६.५९, आशा लघुवित्त ६.०५, शिखर इन्स्योरेन्सको ६.०१ र छ्याङ्दी हाइड्रोपावरको ५.४८ प्रतिशतले शेयरमूल्य बढेको छ ।

उच्च अंकले बढेको शेयरमूल्यमा पनि आइतबारको बजारमा एभरेष्ट बैंकको कन्भर्टिबेल प्रिफरेन्स शेयरको मूल्य १.९९ प्रतिशतले घटेको छ । सनराइज फस्ट म्युचुअल फण्ड, एनआईबिएल समृद्धि फण्ड, ग्लोबल आइएमई बैंकको संस्थापक शेयर, नेपाल हाइड्रो डेभलोपर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, गुडबिल फाइनान्स, साञ्जेन जलविद्युत र कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य १ प्रतिशतले घटेको छ ।


SHARE THIS