फेरी सेयर बजार ऐतिहासिक विन्दुमा, कारोबार पनि सुधारियो

काठमाडौं । झण्डै छ साताको अन्तरालमा सेयर बजारले फेरी ऐतिहसिक रेकर्ड ब्रेक गरेको छ । साताको पहिलो दिन आइतबार सेयर बजार ्मापक नेप्से परिसूचक २६५७ को विन्दुमा पुगेको छ । यस अघिको उच्चतम विन्दु २६४० को रेकर्ड तोड्दै नेप्से सूचक २६५७ विन्दुमा पुगेको हो।

गत मंसिर ११ गते २०७३ साउनमा कायम भएको १८८१ बिन्दुको रेकर्ड ब्रेक गर्दै नेप्से १८९३ विन्दुमा पुगेको थियो। त्यसपछि बजार निरन्तर उकालो लाग्दै गत महिना फागुन ९ गते २६४० विन्दुसम्म पुगेको थियो।

यस अघिको सर्वाधिक उचाइको रेकर्ड तोड्न करिब पाँच वर्ष लागेकोमा अहिले भने बजारले डेढ महिनामै नयाँ रेकर्ड बनाएको हो । बजार २५ अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक २५.७१ अंकले उकालो लागेर २६५७.६१ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले उकालो लागेर ४७०.७५ को न्दिुमा पुगेर अडिएको छ । समग्रमा आइतबारको नेप्से ०.९८ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले उकालो लागेको छ ।

साताको अन्तिम दिनको सेयर कारोबार पनि उकालो लागेको थियो । बिहीबार नेप्से परिसूचक १२.८८ अंकले बढेर २६३१.८९ को विन्दुमा पुगेको थियो । क वर्गका कम्पनीमापक सेन्सेटिभ इण्डेक्स पनि २.८३ अंकले उकालो लागेर ४६६.४२ को विन्दुमा पुगेर रोकिएको थियो ।

आइतबार दिनभर २१२ कम्पनीहरुको एक करोड ८१ लाख ७३ हजार ३७८ कित्ता सेयर ८९ हजार ८६० पटक खरिदबिक्री हुँदा नौ अर्ब ६८ लाख ५८ हजार ५५८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब दुई अर्बले बढी हो ।

अघिल्लो दिन कूल २१८ कम्पनीका एक करोड ४३ लाख ९० हजार ४४७ कित्ता सेयर किनबेच हुँदा कूल सात अर्ब २५ करोड नौ लाख २४ हजार रुपियाँभन्दा बढीको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये आठ वटा उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी पाँच उपसमूहको परिसूचक ओरालो लागेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ भने वित्त उपसमूहको ३.६६ प्रतिशत, अन्यको ३.४१ प्रतिशत र जलविद्युतको १.५ प्रतिशत बढेको छ । यता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.३९ प्रतिशतले ओरालो लागेको छ भने लगानी उपसमूहको परिसूचक पनि २.४६ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार ४६ करोड ८१ लाख रुपियाँ बराबरको शेयर खरिदबिक्री भएर नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ । अपर तामाकोशी, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, प्रुडेन्सियल इस्न्योरेन्स, नेपाल बैंक र एनएलजी इन्स्योरेन्सको २० करोड रुपियाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

आइतबार कारोबारमा आएको वोमी माइक्रोफाइनान्स, जनरल इन्स्योरेन्स, राधी विद्युत कम्पनी, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र साञ्जेन जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक ४.६३ प्रतिशत घटेको छ भने सर्पोट माइक्रोफाइनान्स र एनआईडिसीएलको शेयरमूल्य चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS