फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर ११८ रूपियाँ

काठमाडौं । नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर दुई रुपियाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले नेपालमा पनि पेट्रोल, डिजेल मटितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर दुई रुपियाँ बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर ११८, डिजेल १०१ र मटितेल १०१ रुपियाँ र हवाई इन्धन आन्तरिकको प्रतिलिटर ७४ रुपियाँ पर्नेछ ।

हवाई इन्धन (अन्तर्राष्ट्रिय) र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले मार्च १६ मा पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा १ अर्ब ४८ करोड ७७ लाख रुपियाँ नोक्सान रहेको जनाएको छ ।


SHARE THIS