सात महिनामा निर्यात ७.६ प्रतिशतले बढ्यो, आयातमा ०.०१ प्रतिशतको बृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ भने आयात ०.०१ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको चालु आवको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार सात महिनामा कुल वस्तु आयात ०.०१ प्रतिशतले बृद्धि भएर ८०३ अर्ब ६४ करोड रूपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.६ प्रतिशतले घटेको थियो ।

समिक्षा अवधिमा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड रूपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो ।

यसकै कारण समिक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेर ७३३ अर्ब ७३ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

चालु आवको माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ ।

२०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ । घ। समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

माघमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यबृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यबृद्धि ६.२५ प्रतिशत रहेको छ । वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क पनि २०७७ माघमा १.७७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब तीन करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय तीन अर्ब आठ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९१.९ प्रतिशतले कमी आई तीन अर्ब ८७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४८ अर्ब एक करोड रहेको थियो ।

सेवा खाता अन्तरगत समीक्षा अवधिमा भ्रमण व्यय ५६.७ प्रतिशतले कमी आई १८ अर्ब ८५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय १५ अर्ब ५८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रूपियाँ रहेकोमा शिक्षातर्फको व्यय २० अर्ब ९७ करोड रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता १०१ अर्ब ९० करोड रूपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १०६ अर्बले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५.७ प्रतिशतले कमी आई सात अर्ब ८३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३७.३ प्रतिशतले कमी आई नौ अर्ब दुुई करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर आठ अर्ब ३० करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ११ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८१ करोड ७६ लाखले बचतमा रहेको छ ।

असार मसान्तमा १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बृद्धि भई २०७७ माघ मसान्तमा १४६२ अर्ब तीन करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ माघ मसान्तमा ८.० प्रतिशतले बृद्धि भई १२ अर्ब ५७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड रहेकोमा २०७७ माघ मसान्तमा ५.० प्रतिशतले बृद्धि भई १२८७ अर्ब ५० करोड रुपियाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड रूपियाँ रहेकोमा २०७७ माघ मसान्तमा ०.७ प्रतिशतले कमी आई १७४ अर्ब ५३ करोड रूपियाँ कायम भएको छ । २०७७ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को सात महिनामा विस्तृत मुद्राप्रदाय १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय २३.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) ९७ अर्ब ३६ करोड अर्थात ७.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति २१ अर्ब ६१ करोड अर्थात २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा सञ्चित मुद्रा ८.१ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५.३ प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघमसान्तमा सञ्चित मुद्रा २२.९ प्रतिशतले बढेको छ ।



SHARE THIS