साढे चार अर्ब भन्दा बढी कोरोना बीमा वापत भुक्तानी

काठमाडौं । कोरोना बीमा वापत अहिलेसम्म साढे चार अर्ब भन्दा बढी भुक्तानी भएको छ । बीमा समितिले सार्वजनिक गरेको फागुन २१ गते शुक्रबारसम्मको तथ्याङ्क अनुसार कोरोना बीमा दाबीवापत चार अर्ब ६६ करोड ३० लाख रुपियाँ भुक्तानी भएको हो । यसमध्ये एक अर्ब १६ करोड ३० लाख रुपियाँ सरकारको दायित्वमा परेको छ ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब रुपियाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले तिर्नुपर्ने व्यवस्था छ । एक अर्बभन्दा माथि दुई अर्ब रुपियाँसम्म पुनर्बीमा कम्पनी र दुई अर्ब भन्दा माथि दुई अर्ब ५० करोडसम्म बीमा कम्पनीहरुको महाविपत्ती पुलबाट ब्यहोर्नुपर्ने छ ।

दुई अर्ब ५० करोडमाथि तीन अर्ब ५० करोड रुपियाँसम्मको दायित्व बीमा समितिले बहन गर्नुपर्ने हुन्छ । त्यसभन्दा माथिको दायित्वको बहन भने सरकारले बेहोर्ने व्यवस्था रहेको छ ।

समितिका अनुसार फागुन २१ गतेसम्म कारोना बीमामा ८४ हजार ८४७ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ६३९ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् भने दश हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार दश हजार ९४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने चार हजार २३३ वटा दाबीका फाइल अध्ययनका लागि पठाइने क्रममा रहेका छन् ।

त्यस्तै, ४८२ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ भने १४ हजार ३९३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।


SHARE THIS