कालिमाटी तरकारी बजारमा क्यूआर कोडमार्फत भुक्तानी शुरु, ‘लेस क्यास इकोनोमी’ तर्फ मुलुकलाई लैजान राष्ट्र बैंक कटिबद्ध : गभर्नर

काठमाडौं । अब देशकै ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारमा तरकारी किन्न पैसा बोक्न नपर्ने भएको छ । शुक्रबारदेखि क्यूआर कोडमार्फत भुक्तानी शुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी तरकारी बजारमा पुगेर तरकारी खरिद गरी क्युआरकोर्डमार्फत भुक्तानी गर्दै कारोबारको शुभारम्भ गर्नुभयो ।

कालिमाटी तरकारी बजारमा क्युआरकोर्डमार्फत भुक्तानीको शुभारम्भ गर्दै उहाँले भन्नुुभयो – ‘जहाँ डिजिटल कारोबार धेरै हुन्छ त्यहाँ शुसासन पनि राम्रो हुन्छ र विद्युतीय कारोबार बढ्दै जानु भनेको हामी शुसासित हुँदै जानुपर्छ ।’

राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई अभियानकै रुपमा अघि बढाइरहेको अवस्थामा सबैलाई विद्युतीय माध्यमबाट गरिने भुक्तानीमा जोडिन उहाँले आग्रह गर्नुभयो ।

कालिमाटी बजारमा चार सय रुपियाँ हाराहारीको तरकारी खरीद गरी क्युआरबाट भुक्तानी गर्दै उहाँले क्युआर कोडको माध्यमबाट भुक्तानी सुरक्षित रहेको र यसलाई देशका विभिन्न भागमा पु¥याएर ‘लेस क्यास इकोनोमी’ तर्फ मुलुकलाई लैजान राष्ट्र बैंक कटिबद्ध रहेको बताउनुुभयो ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले क्युआर कोड विद्युतीय भुक्तानी एउटा क्रान्ति भएको भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुुभयो । राष्ट्र बैंकले प्रत्येक बैंक र उनीहरुका शाखालाई कम्तिमा नजिकको एक तरकारी बजारमा क्युआरकोडबाट भुक्तानी ब्यवस्था मिलाउने कामको थालनी गर्न यसअघि नै निर्देशन दिइसकेको छ ।

आगामी एक वर्षभित्र देशका सबैजसो तरकारी बजारमा क्युआर कोडबाट भुक्तानी व्यवस्था मिलाउने राष्ट्र बैंकको योजना रहेको छ ।

अहिले कालिमाटी बजारमा रहेको करिब ५०० पसल मध्ये आधा पसल क्युआर प्रणालीमा संलग्न भइसकेका छन्। बाँकी रहेका पसललाई पनि जोडिन आग्रह गर्दै क्युआरकोर्ड मार्फत हुने भुक्तानी अझै तदारुकताका साथ अघि बढाउन गभर्नर अधिकारीले आग्रह गर्नुभयो ।

अबको एक वर्ष भित्र तरकारी किन्न पैसा बोकेर जानु नपर्ने गरी केन्द्रिय बैंकले कार्य गरीरहेको उहाँले बताउनुभएको थियो । यसअघि नक्साल तरकारी बजारमा पनि कोर्डमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको थियो ।

हिजोको दिनभन्दा आजकै दिनमा पनि नगद कारोबार घटिसकेको बताउँदै उहाँले आगामी दिनमा त्यो अनुपात अझै धेरै घटेर जाने बताउनुभयो ।

डिजिटल कारोबार बढी हुँदा त्यहाँ शुसासन राम्रो हुने भन्दै गभर्नर अधिकारीले भन्नुभयो जहाँ डिजिटल कारोबार धेरै हुन्छ त्यहाँ शुसासन पनि राम्रो हुन्छ र विद्युतीय कारोबार बढ्दै जानु भनेको हामी शुसासित हुँदै जानु हो ।

मैले पर्स बोक्न छोडेको निकै समय भइसक्यो। मेरो पर्सको सट्टा मेरो मोबाइलले काम गरिरहेको छु । यो अवस्था यहाँहरु सबैको आउँछ।

विद्युतीय कारोबार बढ्दै गएपछि चेकबुक समेत चलाउन छोडेको भन्दै उहाँले भन्नुभयो मेरो चेकबुक कुनै चल्दैन। त्यो लामो समयदेखि रिन्यु पनि गरेको छैन। यो समयको माग पनि हो ।

केन्द्रिय बैंकले विद्युतिय भुक्तानीलाई अभियानकै रुपमा अघि बढाइरहेको अवस्थामा सबैलाई विद्युतिय माध्यमबाट गरिने भुक्तानीमा जोडिन उहाँको आग्रह थियो । गर्भनर अधिकारीले राष्ट्र बैंकले क्यास लेस सोसाइटिको परिकल्पना गरेको र त्यो अभियानमा जोडिएर सहयोग गर्न आग्रह पनि गर्नुभयो । विद्युतीय कारोबारमा संलग्न हुन आग्रह गर्दै उहाँले भन्नुभयो मेरो हस्ताक्षरको नोट नमुना मात्रै रहोस, हात हातमा पुर्याइराख्न नपरोस।


SHARE THIS