सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले भन्दै यस क्षेत्रमा देखिएका सबै समस्या एउटै राउन्ड टेबलमा बसेर हल गर्न आफूले चाहेको बताउनुभएको छ ।

अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा सतप्रतिशत लाग्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघको यहाँ सोमबार आयोजित २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘सरकारले गर्नुपर्ने कामका बारेमा एउटै टबेलमा सबै बसेर समाधानको मार्ग पहिल्याउन सकिने छ । त्यसका लागि यहाँहरु तयार हुनु होला । अब गुनासो गर्ने होइन अग्रगामी रुपमा अगाडी बढ्ने हो ।’

मन्त्री पौडलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, राष्ट्र बैंकका गर्भनर सबैसहित सहकारी अभियान्ताहरुको राउन्ड टेबल कार्यक्रम गरेर यसलाई अगाडि बढ्न बाधा परेका सबै समस्यालाई एकै ठाउँबाट समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासंघको २८ औं वार्षिक साधारणसभा भौतिक तथा भर्चुअल रुपमा भएको थियो ।

‘गुनासोले मात्र गन्तव्यमा पुगिँदैन । सरकारले के गर्नुपर्ने अभियानबाट योजना बनाउनुस् र त्यसको समाधान गरेर अगाडी बढौं ।’ – उहाँले भन्नुभयो । 

भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट सञ्चालन भैरहेको महासंघको साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाङफेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपायका विषयमा समेत सुझाव दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले यस क्षेत्रमा देखिएका विकृतिहरु हटाउन समेत ठोस कार्यक्रम अघि बढाउन आफू अभियानसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले सहकारी मैत्री नरहेका कानुनहरु संशोधनका संसदिय निर्वाचनपछि नयाँ संसदले गर्ने बताउनुभयो । अन्य नीतिगत विषयमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनुभयो ।

साधारणसभामा निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले लेख्नुभएको १६ औं पुस्तक समाजवाद र महासंघले प्रकाशन गरेको सहकारीका सिद्धान्तहरुको मार्गदर्शन विमोचन गरिएको थियो ।

साधारणसभामा महासंघका अध्यक्ष मिनराज कडेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले महासंघको आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महासंघको सदस्य संघहरुको साझेदारीमा महासंघले विभिन्न कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।

साधारणसभामा उपाध्यक्ष रमेश पोखरेलले महासंघले तयार गरेको विभिन्न नीति तथा कार्यविधिहरुको विषयमा प्रष्ट पार्नुभएको थियो । साधारण सभालाई महासंघका सल्लाहकारहरु सांसद उषा झा, महासंघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, किसान आयोगका सदस्य रविन्द्र केसी, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम सञ्चालन महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गर्नुभएको थियो । बन्द सत्रमा एक दर्जनबढी राष्ट्रिय प्रतिनिधिहरुले समसामायिक विषयमा महासंघले स्पष्ट नीति सार्वजनीक गर्नुपर्ने, सरकारसँग लविङ गर्नुपर्ने, जिल्लास्तरीय संघहरु दिगोपना र स्तरबृद्धिका कार्यक्रम ल्याउनुपर्ने लगायतका विषयमा ध्यानआकर्षण गराएका थिए ।


SHARE THIS