आठ विकास बैंक र दुई फाइनान्स कम्पनी पनि थपिए आरटिजिएस प्रणालीमा

काठमाडौं । वाणिज्य बैंकहरुले मात्रै दिंदै आएको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमामार्फत शुक्रबारदेखि आठ विकास बैंक र दुई फाइनान्स कम्पनी पनि थपिएका छन् ।

नेपाल राष्ट्र बैंकले २०७६ भदौ २५ गते देखि कार्यान्वयनमा ल्याएको आरटिजिएस प्रणालीमा आठ विकास बैंक र दुई फाइनान्स कम्पनी थपिएका हुुन् ।

यसअघि २७ वाणिज्य बैंकले आरटिजिएस सेवा दिँदै आएकोमा शुक्रबारदेखि आठ विकास बैंक र दुई फाइनान्स कम्पनीले पनि यो सेवा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैंकहरुका लागि मात्र लागु हुनेगरी यस्तो प्रणालीको सुरुवात गरेको हो । अहिले ‘ख’ र ‘ग’ वर्गका कम्पनीहरु पनि जोडिएका हुन् ।

थपिएका विकास बैंकहरूमा ज्योति विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक, गरिमा विकास बैंकस, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक, मुक्तिनाथ विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक छन । यसैगरी आइसिएफसि फाइनान्स र मञ्जुश्री फाइनान्सले पनि आरटिजिएस प्रणालीमा आबद्ध भई कारोबार सुरु गरेका छन् ।

यो प्रणालीको सुरुवातले ठुला कारोबार सेलमेन्टका गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन सक्ने भएका हुन । यो प्रणालीमा कारोबारीले दुई लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक काट्नुपर्दैन । त्यसभन्दा तलको रकमका लागि भने एकाउन्टे पेयी चेक नै जारी गर्नुपर्छ ।

राष्ट्र बैंकले २० लाखभन्दा माथिका रकमका लागि एकाउन्ट पेयी चेक जारी गर्नै नपाइने व्यवस्थासमेत गरेको छ । यस्तो कारोबार आरटिजिएस प्रणालीमार्फत नै हुनुपर्ने व्यवस्था गरिएको छ ।

यो प्रणालीमा दुई लाख रुपैयाँ देखि २० लाख सम्मको कारोबारका लागि ऐच्छिक गरिएको छ भने त्यस भन्दा माथिको लागि अनविार्य गरिएको छ ।

अहिलेको एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन ९ देखि १२ घन्टा लाग्ने झन्झटिलो प्रक्रिया अन्त्य गर्दै आरटिजिएस प्रणाली लागू गर्न लागिएको हो । यो सिस्टममा सहभागी भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसबाट कारोबार गर्नका लागि लिखित आदेश दिनुपर्नेछ । आदेश दिएको २ देखि २० मिनेटभित्र कारोबार सम्पन्न हुने राष्ट्र बैंकको भनाई छ ।

कारोबारका लागि राष्ट्र बैंकको निर्देशनअनुसार बनाइएको एउटा फाराम भर्नुपर्नेछ । उक्त फाराम चेकको विकल्प हुनेछ । उक्त फाराम बैंकका प्रस्तुत गर्नासाथ सम्बन्धित खातावालाको नाममा तुरुन्तै रकम जम्मा हुनेछ । त्यस्तो फाराम सम्बन्धित भुक्तानीकर्ताले आफ्नै कार्यालयमा भरेर प्राप्त कर्तालाई समेत दिन सक्ने व्यवस्था मिलाइएको छ ।


SHARE THIS