अहिलेसम्मकै उच्च विन्दुमा सेयर बजार, परिसूचक २३१५ मा पुग्दा कारोबार छ अर्ब ३७ करोड

काठमाडौँ । सेयर बजार अहिलेसममकै उच्च विन्दुमा पुगेको छ । पछिल्ला केही दिनयता निरन्तर सुुधारोन्मुख दिशामा रहेको सेयर बजारले २३ सयको विन्दु पार गरेको छ ।

गत सातादेखि निरन्तर सुधारको लय समाउँदै नयाँ नयाँ रेकर्ड ब्रेकको लहरमा रहेको सेयर बजार २३१५ को विन्दुमा पुुगेको हो । जुन अहिलेसम्मकै उच्च विन्दु हो । नेप्सेको बृद्घिलाई साथ दिंदै आइतबारको कारोबार रकम पनि उकालो लागेको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेर २३१५ को विन्दुमा पुुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स ८.१७ अंकले उकालो लागेको छ । समग्रमा पहिलो दिनको सेयर बजार १.२४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स १.८८ प्रतिशतले उकालो लागेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन सेयर बजारमा पनि नयाँ रेकर्ड कायम भएको थियो । बुधबार नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ को विन्दुमा पुगेको थियो ।

क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ४३५.२५ को विन्दुमा पुगेको थियो । समग्रमा अन्तिम दिनको नेप्से ०.८३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.४५ प्रतिशतले बढेको थियो ।

आइतबार दिनभर २०८ कम्पनीहरुको एक करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर ५० हजार ६०७ पटक खरिदबिक्री हुँदा छ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिन भन्दा ४६ करोड रुपियाँले बढी हो ।

अघिल्लो दिन कुल २०७ कम्पनीका एक करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपियाँको कारोबार भएको थियो ।

आइतबार दिनभर कारोबारमा १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने हाइड्रोपावर भने ओरालो लागेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२४ प्रतिशत उकालो लागेको पहिलो दिन विकास बैंक ४.६१ प्रतिशत, अन्य ३.४ प्रतिशत, लघुवित्त ३.१९ प्रतिशत, फाइनान्स उपसमूह २.५२ प्रतिशत र जीवन बीमा १.५१ प्रतिशतले उकालो लागेको छ । यता हाइड्रोपावर भने ०.४ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार ५८ करोड १० लाख १२ हजार रुपियाँ बराबरको शेयर खरिदबिक्री भएर कोेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा आएको छ । एनआईसी एशिया बैंक र सिभिल बैंकको पनि २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

पहिलो दिन युनाइटेड फाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने एभरेष्ट इन्स्योरेन्स संस्थापक, र मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य तीन प्रतिशतले घट्दा नेपाल एसबिआई बैंक, रसुवागढी हाइड्रोपावर, इन्भेष्टमेन्ट बैंक संस्थापक, साञ्जेन जलविद्युत कम्पनी र शिवश्री हाइड्रोपावरको शेयरमूल्य पनि दुुई  प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS