दूरसञ्चार क्षेत्रको विकास र विस्तारसँगै कनेक्टिभिटीमा लगानी भयो अब कन्टेन्टमा लगानी आवश्यक

काठमाडौं । दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकोले अबका दिनमा कन्टेन्टतर्फको लगानी विस्तारमा जानुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कोभिड महामारीमा दूरसञ्चार क्षेत्रले खेलेको भूमिका, प्रभाव र अबको बाटो के हुने भन्ने विषयमा भएको भर्चुअल अन्तरक्रियामा वक्ताहरुले ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएकोले कन्टेन्ट सुधारमा जानु आवश्यक भएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताउनसुभयो । उहाँले लकडाउनकै समयमा पनि अपवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइबर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई शिक्षा प्याकेजमा प्राधिकरणले काम गरेको बताउनुभयो । कोभिडका समयमा सेवा प्रदायक कम्पनीहरुको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रुपमा नआएको उहाँको अनुभव छ ।

कोभिड कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिकै समस्या रहकोले डिजिटल डिभाइडको समस्या बढेर जाने आशंका समेत बढेको छ । ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले शहरको तुलनामा गाउँमा केनेक्टिभी र कनेन्ट दबैको अवस्था दयनीय भएको बताउनुभयो । शहरमा सेवा छनोटको अवसर छ,  कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ । अबको फोकस ग्रामीण क्षेत्रमा गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलीका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठुलो रुप लिने हुँदा सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो  ।

नेपाल टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले कनेक्टिभिटीको सवालमा कर्णाली प्रदेश, हिमाल, र उच्च पहाडी भेकमा प्राधिकरण अन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेन्टिभिटीमा सहजीकरण गरिनुपर्ने बताउनुभयो । धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैँ सेवा विस्तार गर्छन् जहाँ अप्ठेरो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले कोषको रकम ग्रामिण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम जम्मा गर्ने गरकोले सो रकम निर्धारित काममै खर्च गर्नुपर्ने बताउनुभयो । हाल यो कोषको रकम सरकारले चालू खातामा जम्मा गरेको छ । ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उहाँको अनुभव छ ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकहरुमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताउनुभयो । डाटा सेवा प्रयोग बढेको भन्दै अब एनसेलले यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरु ल्याउने तयारी गरेको उहाँले जानकारी दिनुभयो । पछिल्लो प्रविधि फाइभ जीमा पनि केही सकारात्मक प्रविधिको विकासलाई नपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत दिंदै उहाँले कोभिडका समयमा सरकारसँग नजिक रहेर काम गरेको तथा सहयोग रकम समेत उपलब्ध गराएको बताउनुभयो । उहाँले व्यवसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत स्कुलशिक्षा, स्वाथ्य सामाग्रि, कोभिड सम्वन्धी जनचेतना, फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सिमकार्ड वितरण लगायतका कार्यहरु गरेको बताउनुभयो ।

यता इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउनमा इन्टरनेट ब्याण्डविथ खपत ४० प्रतिशतसम्म बृद्धि भएको भन्दै उपभोक्ताको रुची र प्रयोग फेरिएको बताउनुहुन्छ । पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदयाकहरुलाई व्याण्डविथ व्यवस्थापनमा धौ धौ परेको भन्दै यसमा केहि सोच्न पनि नियामक निकायसमक्ष उहाँले आग्रह गर्नुभयो ।

यसमा प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा भनौं नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिहरेको र छिट्टै केही ठोस निर्णय लिने बताउनुभयो ।



SHARE THIS