११ अर्ब ५२ करोड २६ लाख ४० हजार रुपियाँ बराबरको सेयर कारोबार, साताभर १० अंक बढ्यो नेप्से

काठमाडौं । पछिल्लो समय सुधारको क्रममा रहेको यो साता ११ अर्ब ५२ करोड २६ लाख ४० हजार रुपियाँ बराबरको दुई करोड ६९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यो साता २०३ कम्पनीको एक लाख ४५ हजार ३५९ पटकको कारोबारमा ११ अर्ब ५२ करोड २६ लाख ४० हजार रुपियाँ बराबरको दुई करोड ६९ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको हो । यस साता १५ हजार ६२८ पटकको कारोबारमा १ अर्ब ३५ करोड ८२ लाख रुपियाँ बराबरको १५ लाख ५५ हजार कित्ता सेयर खरिदबिक्री भएको कारोबार रकम, सेयर संख्या र कारोबार संख्याका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडि रहेको छ ।

सेयर बजार पूँजीकरण पनि छ महिना यताकै उच्च विन्दुमा पुगेको छ । यस साताको अन्तिम कारोबार दिन नेप्सेको कुल बजार पूँजीकरण २० खर्ब २१ अर्ब ७४ लाख रुपियाँ पुगेको छ । यसअघि २०७६ फागुन १८ गते नेप्सेको कुल बजार पूँजीकरण २० अर्ब ३१ करोड रुपियाँ पुगेको थियो । नयाँ कम्पनीहरु थपिएको र बजार बढ्दो क्रममा रहेका कारण कुल बजार पूँजीकरण पनि बढेको हो ।

यो साता नेप्से परिसूचक समग्रमा १०.२७ अंकले बढेको छ । साताको पहिलो र दोस्रो कारोबार दिन ओरालो लागेको नेप्से, बाँकी तीन कारोबार दिन बढेपछि १० अंकको बृद्धि हासिल गरेको हो । गत साताको अन्तिम कारोबार दिन १५१०.४२ विन्दुमा बन्द भएको नेप्से यस साताको अन्तिम कारोबार दिन १५२०.६९ विन्दुमा बन्द भएको छ ।

पूर्ण अनलाईनमैत्री शेयर बजारमा बिहीवार प्राविधिक समस्याकाबीच पनि दुई अर्ब २० करोड ९६ लाख ४४ हजार बराबरको शेयर कारोबार भएको थियो ।

साताको तेस्रो कारोबारको दिन मंगलवारदेखि उकालो लागेको नेप्से परिसूचक बिहीवार पनि १२ दशमलव ४९ अंकले बढेको छ । यसदिन नेप्सेले १५२०.६९ विन्दुमा टेकेको हो ।

बिहीवार नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या आएपछि १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोक्का गरिएको थियो । अन्तरराष्ट्रिय स्तरको नाम दिएको टिएमएसमा कारोबार रोक्का नै गर्ने गरी समस्या देखिएको यो दोस्रो पटक हो । यसअघि भदौ १४ गते पनि सोही समस्याका कारण बजार प्रभावित बनेको थियो ।

करीब २ घण्टा कारोबार बन्द भएपछि बिहीवार नेप्सेले साँझ ५ बजेसम्म कारोबार खुला गरेको थियो । प्राविधिक अवरोध पश्चात पनि लगानीकर्ताहरुको सक्रिय सहभागिता बिहीवारको बजारमा देख्न सकिन्छ । यस दिन बीमा समूहको शेयरप्रति लगानीकर्ताहरु बढी आकर्षित भएका थिए ।

यस दिन कारोबारमा आएका १२ समूहमध्ये निर्जीवन बीमा समूह र जीवन बीमा समूहको परिसूचकमा उच्च वृद्धि देखिएको छ । निर्जीवन बीमा समूहको परिसूचक ३.९ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २.१९ प्रतिशत बढेको हो ।

राष्ट्रिय बीमा कम्पनीको संस्थापक र सर्वसाधारण शेयरसँगै रिलायन्स लाइफ, एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्ट लिमिटेड र एनआरएन लघुवित्त वित्तीय संस्थाको शेयर करीब १० प्रतिशतसम्म बढेर कारोबार भएको छ ।

राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारणतर्फको शेयरमूल्य बिहीवार ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता रू. १ हजार ८६ ले वृद्धि भएको छ भने संस्थापक तर्फको पनि ९ दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता रू. ९५० ले बढेको छ ।

बिहीवार पनि सर्वाधिक कारोबार गर्ने कम्पनी नेपाल पुनर्बीमा रहेको छ । यस कम्पनीको रू. १७ करोड ४२ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । बिहीवार सर्वाधिक रकमको कारोबार गर्ने यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४ ले बढेर अन्तिम मूल्य रू. ८९५ कायम भएको हो ।

ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ७१ अंक बढेर ३०१ दशमलव ३८ विन्दुमा पुगेको छ । यो दिन १८९ ओटा कम्पनीको २९ हजार ९९६ पटकको व्यापारमा ४३ लाख २९ हजार ६६५ कित्ता शेयर खरीदविक्री भएको छ ।

उच्च कारोबारसँगै पुनर्बीमा कम्पनी सर्वाधिक पूँजीकरण भएको दोस्रो कम्पनी बनेको छ । यस साताको अन्तिम कारोबार मूल्य अनुसार सो कम्पनीको कुल बजार पूँजीकरण आठ अर्ब ९५ करोड रहेको छ । सबैभन्दा बढी पूँजीकरण भएको कम्पनी नेपाल दूरसञ्चार कम्पनी हो ।

यस साता कारोबारमा आएका १२ उपसमूमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १४.५९ प्रतिशत बढेको छ । गत साता ९०१.७८ विन्दुमा रहेको यस उपसमूहको परिसूचक यस साताको अन्तिम कारोबार दिन १०३३.३६ विन्दुमा पुगेको छ भने म्युचुअल फण्ड, होटल, विकास बैंक र बैंकिङ  उपसमूहको परिसूचक भने घटेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड मोस्ट पपुलर बाइ स्टकमा पर्न सफल भएको यस साता गुहेश्वरी मर्चेण्ट बैंक, सबैको लघुवित्त, आशा लघुवित्त, चिलिमे हाइड्रोपावर लगायतका कम्पनीहरु पनि परेका छन् । त्यसैगरी, यस साता मोस्ट पपुलर सेल स्टकमा बरुण हाइड्रोपावर, सांग्रीला डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, बोटलस नेपाल लगायतका कम्पनीहरु परेका छन् ।


SHARE THIS