ग्रिल तथा स्टिल व्यवसायी संघको सामाजिक अभियान : स्वास्थ्य परीक्षणदेखि रक्तदानसम्म

काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले व्यवसायीसँगै श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै निःशुल्क टी.टी. खोप तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा करिब १७० जना व्यवसायी तथा कर्मचारी सहभागी भएका छन् भने ४० जनाले रक्तदान गरेका छन् ।

ग्रिल तथा स्टिल व्यवसायको प्रकृतिका कारण कार्यस्थलमा चोटपटकको जोखिम उच्च हुने भएकाले व्यवसायी तथा दक्ष एवं अर्धदक्ष श्रमिकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

कार्यक्रममा रिपब्लिक अफ माल्टाका अवैतनिक महावाणिज्यदूत तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका निवर्तमान अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवाल, हिमाल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक तथा महासंघका तृतीय उपाध्यक्ष एवं काठमाडौं जिल्लाका पूर्व अध्यक्ष यज्ञदास श्रेष्ठ, महासचिव विवेकदास श्रेष्ठलगायत महासंघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि दिनेशकुमार श्रेष्ठले व्यवसायीहरूलाई बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण प्राप्त गर्न आवश्यक सहजीकरण गर्ने तथा ग्रिल व्यवसायमा प्रयोग हुने मेसिनरी खरिदमा विशेष छुट उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष मोहन कटुवालले काठमाडौं जिल्ला समितिको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । निर्वाचन सम्पन्न भएको एक महिना नपुग्दै व्यवसायी तथा कर्मचारीको स्वास्थ्यलाई केन्द्रमा राखेर टी.टी. खोप तथा रक्तदानजस्तो रचनात्मक कार्यक्रम आयोजना गरेकोमा उहाँले जिल्ला कार्यसमितिलाई धन्यवाद दिनुभयो ।

आगामी दिनमा पनि व्यवसायी तथा श्रमिकको हितमा केन्द्रित स्वास्थ्य, सुरक्षा र सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।

ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिका कार्यवाहक अध्यक्ष भरत लामिछानेले व्यवसायी तथा कर्मचारीको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

कार्यक्रममा हिमाल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक यज्ञदास श्रेष्ठले ग्रिल तथा स्टिल व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारीका लागि विभिन्न रोगको उपचार तथा स्वास्थ्य परीक्षणमा विशेष छुट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

सोही अवसरमा श्रेष्ठ मेसिनरी प्रा.लि.को तर्फबाट काठमाडौं जिल्ला समितिको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मानसमेत गरिएको थियो ।

ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिका महासचिव यामबहादुर श्रेष्ठ ‘पशुपति’ कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

आयोजकका अनुसार व्यवसायी तथा श्रमिकको स्वास्थ्य, कार्यस्थल सुरक्षा, सामाजिक उत्तरदायित्व र व्यावसायिक सहकार्यलाई एउटै अभियानमा जोडिएको यस कार्यक्रमले ‘स्वस्थ व्यवसायी, सुरक्षित श्रमिक र संगठित व्यवसाय’ को भावनालाई थप बलियो बनाएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने हिमाल हस्पिटल प्रालि. तथा श्रेष्ठ मेसिनरी प्रालि., अतिथि, रक्तदाता व्यवसायी, स्वास्थ्यकर्मी तथा सहभागी व्यवसायी एवं कर्मचारीप्रति ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले आभार व्यक्त गरेको छ ।


SHARE THIS