साढे २५ अंकले ओरालो लाग्यो डेढ महिनापछि खुलेकै सेयर बजार

कठमाडौं । कोभिड १९ का कारण बन्द भएको ५० औं दिनमा खुलेको सेयर बजार साढे २५ अंकले ओरालो लागेर बन्द भएको छ । बजार खुलेपछि भएको पहिलो दिन मङ्गलबार भएको कारोबारमा नेप्से परिसूचक २५.३० अंकले ओरालो लागेर १२२६.१५ विन्दुमा पुगेर रोकिएको छ । ठूला कम्पनीहरू संलग्न समूहको कारोबार मापन गर्ने यस दिनको सेन्सेटिभ इन्डेक्स पनि पाँच दशमलव ३९ अंकले ओरालो लागेको छ । समग्रमा यसदिनको नेप्से २.०२ प्रतिशत र सन्सेटिभ इन्डेक्स १.९९ अंकले ओरालो लागेको छ ।
मङ्गलबार ८७ कम्पनीको २९१ पटकको कारोबारमा १० लाख छ हजार ३१२ कित्ता सेयर खरिदबिक्री हुँदा १० करोड ४३ लाख ७२ हजार ६४६ रूपियाँ बराबरको सेयर कारोबार भएको छ ।
मङ्गलबार कारोबारमा आएका ११ वटै उपसमूहका सूचक ओरालो लागेका छन् । बैंकिङ समूहको उपसूचक २६.११, डेभलपमेन्ट बैंकको १५.३६, जलविद्युत १५.३५, निर्जीबन बीमा कम्पनी ७२.३३, उत्पादन तथा प्रशोधन समूहको ३४.४६, माइक्रोफाइनान्स समूहको १८.०५, जीवन बीमा समूहको उपसूचकमा १५७.७८ अंकको गिरावट आएको छ ।
यस दिन सेयर बजारमा ५२.९० प्रतिशत लगानीकर्ताले अनलाइन मार्फत कारोबार गरेका छन् भने बाँकी कारोबार ब्रोकर कम्पनीबाटै भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मङ्गलबार १६ सय ७१ लगानीकर्ताले सेयर कारोबार गरेका छन् । जसमा आठ सय ८४ लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरेका हुन् । नेप्सेका अनुसार हालसम्म अनलाइन प्रयोगकर्ता २७ हजार एक पुगेका छन् ।
नागरिक लगानी कोषको मात्रै आठ करोड ८८ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषले पुनर्बीमा कम्पनीको शेयर किनबेच गरेको कारण एकै दिन उक्त रकम बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन कारोबारमा आएका सबै कम्पनीका लगानीकर्ता ओरालो लागेका छन् । मङ्गलबार हिमालयन बैंकको शेयरमूल्य ३ प्रतिशतले घटेको छ भने नबिल बैंक, नागरिक लगानी कोष, कृषि विकास बैंक, कालिका लघुवित्त, गुराँस लाईफ इन्स्योरेन्स, जनउत्थान लघुवित्त, स्वरोजगार, ग्रामीण विकास लघुवित्त, हिमालयन डिष्टलरी, ग्लोबल आईएमई लघुवित्त, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन पावर पार्टनर, एभरेष्ट बैंक, नेपाल लाईफ, छिमेक लघुवित्त, युनाइटेड इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, सूर्या लाईफ, एनएमबि बैंक र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ३ प्रतिशत हाराहारीमा घटेको छ ।
डेढ महिनाभन्दा लामो समय बन्द भएका सेयर बजार मङ्गलबारदेखि खुलेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आएको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जले मङ्गलबारदेखि दैनिक दुई घण्टा बजार खोलेको छ । मङ्गलबारदेखि खुलेको बजारमा कुनै पनि कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरै घटबढ नहुने र शेयर बजार मापक नेप्से सूचक २ प्रतिशतले घटबढ भए सो दिनको लागि बजार नै बन्द गर्ने व्यवस्था छ ।

SHARE THIS