एकैदिन २४ जना थपिँदा नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण जोखिम देखिँदै आएको कपिलवस्तुलगायतका विभिन्न ठाउँमा एकैदिन २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या पनि १३४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा सोमबार जारी सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु कपिलवस्तु, यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु र एक जना उमेर नखुलेका पुरुष छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा संक्रमण पुष्टि भएका १२० मध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन् । सोमबार थपिएका नयाँ संक्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । सोमबारै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ तरही, हटेलका १८ वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ ।
भारतमा २४ घण्टामा चार हजारभन्दा बढी भेटिए
भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा मात्रै चार हजार दुई सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको छ ।
यसैगरी संक्रमणबाट यो अवधिमा ९७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहान ८ बजेसम्म भारतमा कोरोना भाइरस संक्रमित कुल संख्या ६७ हजार १५२ पुगेको छ ।
यी मध्ये ४४ हजार २९ वटा सक्रिय केस हुन् । संक्रमणका कारण कुल २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन् । २० हजार ९ सय १६ जना संक्रमित बिरामी निको भएका छन् ।
भारतमा भेटिएका धेरै संक्रमित महाराष्ट्र, गुजरात, दिल्ली र तमिलनाडु राज्यबाट रहेका छन् । संक्रमित संख्या वृद्धि आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनको रणनीति र अर्थव्यवस्थालाई कसरी अगाडि लैजाने भन्ने बारेमा छलफल गर्न मुख्यमन्त्रीहरूसँग भेट गर्ने भएका छन् ।
सोमबारसम्म विश्वभरमा ४१ लाख एक हजार ६९९ जना कोरोनाबाट संक्रमित छन् भने दुई लाख ८२ हजार ७०९ जनाले ज्यान गुमाइसकेका छन । कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या पनि १४ लाख आठ हजार ९८० जना छन् ।

SHARE THIS