आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्र पुनरुत्थान र स्थायित्वसहितको उच्च आर्थिक बृद्धिमा केन्द्रित हुने


काठमाडौं । कोभिड १९ को संक्रमणबाट थिलोथिलो भएको अर्थतन्त्र पुनरुत्थान र स्थायित्वसहितको उच्च आर्थिक बृद्धिमा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने भएको छ ।
आगामी बजेटको सिद्धान्तहरु प्रस्तुत गर्दै प्रतिनिधि सभा संसदमा आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ बजेट स्थायित्वसहितको उच्च आर्थिक बृद्धिमा केन्द्रित हुने बताउनुभयो । कोभिड १९ का कारण अर्थतन्त्र तहसनहस भएको बताउँदै उहाँले आगामी आर्थिक वर्ष भने उच्च आर्थिक बृद्धि हासिल गर्ने गरी बजेट ल्याउने बताउनुभयो । भूकम्पको समयपछि पनि नेपाल छिट्टै माथि उकासिएको र कोरोनापछि पनि सोही रुपमा अघि बढ्ने मन्त्री खतिवडाले बताउनुभयो ।
अर्थतन्त्र पुनरुत्थानको लागि कर सहुलियतको कार्यक्रम ल्याइने बताउँदै उहाँले करको दर भन्दा दायरामा ध्यान दिने बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा मौद्रिक उपकरण मार्फत सहुलियत बढाउने जानकारी दिंदै उहाँले मूल्यबृद्धिलाई बान्छित सीमाभित्र राखिने र स्वास्थ्य पूर्वाधारमा लगानी बढाइने बताउनुभयो ।
कोरोनाको असरका कारण रोजगारी गुमाएकाहरुलाई पुनस्थापना गर्न तथा विदेशबाट फर्केकाहरुलाई उद्यम गर्न प्रोत्साहन गर्ने बजेट ल्याइने भन्दै उहाँले कृषि क्रान्तितर्फ साधन र स्रोत परिचालन गर्ने बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत हुने नीति तथा कार्याक्रम र बजेटमा नागरिकलाई आधारभुत स्वास्थ्य सेवा निःशुल्क गर्ने बताउँदै उहाँले कोरोना भाइरसले पारेको असर र देशको अर्थतन्त्र पुनरुत्थानका लागि आर्थिक गतिविधी बढाउने र नागरिकसँग जोडिएका आधारभुत पक्षहरुलाई बजेटमा बढी प्राथमिकता दिने बताउनुभयो ।
आगामी बजेटबाट कर सहुलियतको व्यवस्था गर्दै दीगो र उच्च आर्थिक बृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने भन्दै उहाँले भन्नुभयो – ‘अब स्वास्थ्य पूर्वाधारमा लगानी बढाइनेछ, स्वास्थ्य बीमालाई विस्तार गरी आम नागरिक सबैलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याइनेछ ।’
होटल र एयरलाइन्सको पुनउत्थानलाई प्राथमिकता दिनको लागि सरकारले सहुलितय घोषणा गर्ने, भूकम्पपछिको पुननिर्माण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य राख्ने भन्दै उहाँले सार्वजनिक खर्चको प्राथमिकरण गर्ने र अति आवश्यक भएमा मात्र बजेट र प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजनालाई बजेट अभाव हुन नदिने बताउनुभयो ।
वित्तीय संघियतालाई प्रभावकारी र गतिशिल बनाउन करको दायरा विस्तार र परिपालना गरी राजश्व परिचालन गरिनुका साथै बैंक तथा वित्तीय संस्थाका साधनलाई पुनरुत्थान गरी थप परिचालन गरिने  उहाँले बताउनुभयो ।

SHARE THIS