तत्काल वित्तीय क्षेत्रका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  मुलुकको वित्तीय क्षेत्रमा रहेका समस्याको तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।
वित्तीय संस्थामा रहेका समस्याको तत्काल र दीर्घकालीन समाधानको लागि संयन्त्र विकास आवश्यक रहेको उहाँको भनाई थियो ।
समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वास आर्जन गरी लगानीमैत्री र व्यवसायिक वातावरण सुनिश्चित गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एशोसियसनलाई आग्रह पनि गर्नु भएको थियो ।
मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्धेश्यले सोमबार अर्थ मन्त्रालयमा बैक तथा बित्तीय संस्थाका प्रतिनिधिसँगको अन्तरक्र्रियामा उहाँले सही समस्याको सहजीकरणका लागि आवश्यक गृह कार्य  गर्न  र त्यसलाई कार्यान्वयनको प्रक्रियामा लैजान अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, लगायत नेपाल राष्ट्र वैंक र नेपाल वैंकर्स एसोसियसनले यथाशीघ्र छलफल गरी टुंगोमा पुर्याउनसमेत निर्देशन दिनुभयो ।

कार्यक्रममा वैंकिङ्ग क्षेत्रमा विशेष गरी तरलताको अवस्था, कर्जाको माग, असुली र व्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी पालना गर्नुपर्ने विषय, सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रको स्वः स्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउने विषय, सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र माग बमोजिम परिचालन, नेपाल राष्ट्र वैंकको एकीकृत निर्देशनहरुको कार्यान्वयन र केवाईसीको मौजुदा व्यवस्था सरलीकरण गर्ने, हेजिङ्ग सुविधा, मर्जर नीतिको कार्यान्वयन लगायत विषयहरूमा सहभागीहरूले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद के.सी., नेपाल राष्ट्र वैंकका डेपुटी गभर्नर लगायत अन्य पदाधिकारी, अर्थ मन्त्रालयका पदाधिकारीसहित सवै वाणिज्य वैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।

SHARE THIS