नेप्से परिसूचक १४ सयभन्दा माथि र कारोबार पनि दुई अर्बमाथिकै निरन्तरता


काठमाडौँ । लामो समयपछि सेयर बजारले मङ्गलबार १४ सयको विन्दुमा टेकेको छ । पहिलो र दोस्रो दुई दिन उच्च बृद्घि भएको सेयर बजार तेस्रो दिन भने झिनो अंकले उकालो लागे पनि १४ सयको विन्दुमा पुगेको छ । यस दिनको कारोबार रकममा पनि संकुचन आए पनि दुई अर्बभन्दा माथि नै रहेको छ ।
मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक १.७७ अंकले उकालो लागेर १४००.०१ को विन्दुमा पुगेर रोकिएको छ भने क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स १.०९ अंकले उकालो लागेर २९४.९५ को विन्दुमा रोकिएको छ । समग्रमा यस दिनको नेप्से ०.१३ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि ०.३७ प्रतिशतले उकालो लागेको छ ।
लामो समयपछि उछालिएको सेयर बजार साताको दोस्रो दिन १४ सयको विन्दुको नजिक पुगेको छ । १२९८.२४ मा पुगेको सेयर बजार मापक नेप्से परिसूचकलाई साथ दिंदै कारोबार रकमले पनि साढे दुई अर्बभन्दा माथि लागेको थियो । सोमबार १४ सय अंकभन्दा माथि पुगेर फर्किएको नेप्सेले १४०२ विन्दुसम्म पुगेको नेप्से बन्द हुने बेलामा १३९८.२४ विन्दुमा ओर्लेर अडिएको थियो ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३४.२६ अंकले उकालो लागेर १३९८.२४ को विन्दुमा पुगेर रोकिएको थियो भने क वर्गका कम्पनी मापक सेन्सेटिभ इण्डेक्स ८.०४ अंकले उकालो लागेर २९३.८६ को विन्दुमा रोकिएको थियो । समग्रमा यस दिनको नेप्से २.५१ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि २.८१ प्रतिशतले उकालो लागेको थियो ।
साताको पहिलो दिन पनि बजार दोहोरो अंकले उकालो लागेको थियो । अघिल्लो साता सामान्य गिरावट भएर बन्द भएको सेयर बजार मापक नेप्से परिसूचक सो दिन भने झण्डै २० अंकले उकालो लागेको थियो । सो दिनको कारोबार रकममा पनि सुधार आएको थियो ।
मङ्गलबार १८१ वटा कम्पनीको ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर २० हजार ८५९ पटक खरिदबिक्री हुँदा दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक ५६ करोडले कमी हो ।
सोमबार १७५ कम्पनीको ६४ लाख ७४ हजार ७५० कित्ता सेयर कारोबार २४ हजार ८०५ पटक खरिदबिक्री हुँदा कुल दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३० करोडले बढी थियो ।

तेस्रो दिन १२ समूहको कारोबार भएकोमा पाँच समूहका सूचक उकालो लागेका छन् भने बाँकी ओरालो लागेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ३०.७५ अंकले उकालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक ७.५३ अंकले उकालो लागेको यस दिन जीवन बिमा समूह भने सबैभन्दा धेरै ४५.९३ अंकले ओरालो लागेको छ ।
सोमबार भएको कारोबारमा आएका सबै उपसमूहका परिसूचकहरु उकालो लागेका थिए । व्यापार उपसमूहको परिसूचक सबैैभन्दा धेरै ४.९८ प्रतिशतले उकालो लागेको सो दिन बैंकिङ ३.५८, जलविद्युत ३.१६, निर्जीवन बीमा २.७५, विकास बैंकको १.५, वित्त १.४७, जीवन बीमा १.४७ र होटल १.०९ प्रतिशतले उकालो लागेका थिए ।
मङ्गलबार १० करोड ६५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएर एनआइसी एशिया बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ भने एनएमबि बैंकको नौ करोड ५९ लाख, हिमालयन डिस्टीलरीको नौ करोड १४ लाख, शिवम सिमेन्ट्सको सात करोड ५६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको छ करोड ९५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।
कालिका माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले उकालो लागेको सो दिन  घलेम्दी हाइड्रोको ९.५२ प्रतिशतले उकालो लागेको छ । माउन्टेन हाइड्रोको ४.३० प्रतिशतले उकालो लागेको यस दिन राष्ट्रिय बीमा कम्पनीको ४.२४ प्रतिशतले उकालो लागेको छ ।
लक्ष्मी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले ओरालो लागेको छ मङगलबार पाँचथर पावर कम्पनी ४.५१ प्रतिशत, सेन्ट्रल फाइनान्स ३.८४ प्रतिशत र गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फामइनान्स ३.६७ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS