नेप्से ४३ अंकले उकालो, कारोबारमा पनि ५० करोडले बृद्घि

काठमाडौं । केही दिनदेखि सुधारको बाटो पछ्याइरहेको सेयर बजारमा यो साताको पहिलो दिन उच्च अंकले सुधार आएको छ । आइतबार ४३ अंकले उकालो लागेको बजारलाई साथ दिंदै यस दिनको कारोबार रकम पनि ५० करोडले बृद्घि भएको छ ।
आइतबारको सेयर बजार मापक नेप्से परिसूचक ४२.६१ अंकले उकालो लागेर १२५५.७२ को विन्दुमा पुगेर अडिएको छ । यस दिन क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ८.४७ अंकले उकालो लागेर २७२.७३ अंकमा पुगेको छ । समग्रमा साताको पहिलो दिनको नेप्से ३.५१ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ३.२० प्रतिशतले उकालो लागेको छ ।

आइतबार नेप्से परिसूचक पाँच महिनायताकै उच्चतम विन्दुमा पुगेको छ भने यस दिन दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अघिल्लो दिन घटेर बन्द भएको सेयर मापक नेप्से परिसूचक अन्तिम कारोबार दिन भने ३.१५ अंकले बढेर १२१३.११ को विन्दुमा पुगेको थियो । त्यस्तै क वर्गका कम्पनी मापक परिसूचक सेन्सेटिभ इण्डेक्स पनि ०.९५ प्रतिशतले सुधार भएर २६४.२६ विन्दुमा पुगेको थियो । समग्रमा नेप्से ०.२९ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ०.३६ प्रतिशतले सुधार भएको थियो ।
आइतबार १७९ कम्पनीको १५ हजार ९०७ पटकको कारोबारमा एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार रुपियाँ बराबरको ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जुन अघिल्लो दिनको तुलनामा पचास करोड रुपियाँभन्दा बढी हो ।

बिहीबार १७७ कम्पनीका ३८ लाख ४९ हजार ७२२  कत्ता सेयर किनबेच हुँदा ८३ करोड ७० लाख ३५ हजार ७५७ रुपियाँको कारोबार भएको थियो । यो अघिल्लो दिनको तुलनामा १० करोड ६१ लाख भन्दा बढीको कारोबार थियो ।
बुधबार १७२ कम्पनीका २१ लाख ८५ हजार ३९७ कित्ता सेयर किनबेच हुँदा कूल ७३ करोड आठ लाख ५२ हजार ३४५ रुपियाँको कारोबार भएको  थियो ।
आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक उकालो लाग्दा निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ८.१७ प्रतिशतले उकालो लागेको छ । लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक साढे छ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
बिहीबार भएको कारोबारमा आएका १२ उपसमूहमध्ये व्यापार, विकास बैङ्क, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा उपसमूह उकालो लागेर बन्द भएका थिए भने बाँकी उपसमूहको कारोबार खस्केको थियो ।
आइतबार नेपाल इन्स्योरेन्स, प्रमियर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाईफ इन्स्योरेन्स लगायतका कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेका कम्पनीहरुमध्ये अधिकांश निर्जीवन बीमा र लघुवित्त कम्पनीहरु रहेका छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीको शिर्ष स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । सो कम्पनीको यस दिन ५ करोड ८८ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन ग्रामीण विकास लघुवित्त र एनआईसी एशियाको कारोबार रकम चार करोड नाघेको छ । शिवम् सिमेन्ट्स, डिप्रोक्स लघुवित्त, फस्ट माइक्रोफाइनान्स र नेपाल बैंकको तीन करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

SHARE THIS