विकास बैङ्कहरूको नाफा साढे पाँच अर्बमाथि, ४९.०४ प्रतिशतले बढ्यो

सञ्जय नेपाल

काठमाडौँ । राष्ट्रियस्तरका विकास बैङ्कहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय नाफा बृद्धि गरेका छन् । राष्ट्रियस्तरका आठ विकास बैङ्कले चालु आर्थिक वर्षको चैतसम्म पाँच अर्ब ५० करोड ३५ लाख ७६ हजार २३१ रुपियाँ खुद नाफा आर्जन गरेका हुन । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.०४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा यी बैङ्कहरूको नाफा तीन अर्ब ६९ करोड २७ लाख १५ हजार ४५१ रुपियाँ रहेको थियो ।

नाफाका आधारमा गरिमा विकास बैङ्क शीर्ष स्थानमा रहेको छ । समीक्षा अवधिमा गरिमाले एक अर्ब चार करोड ८२ लाख रुपियाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४२.९१ प्रतिशतले बढी हो ।

त्यसैगरी, मुक्तिनाथ विकास बैङ्क ले ९४ करोड २६ लाख रुपियाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैङ्कले ७८ करोड ८४ लाख रुपियाँ र ज्योति विकास बैङ्कले ६२ करोड ९४ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, कामना सेवा विकास बैङ्कले ५८ करोड ८६ लाख रुपियाँ, लुम्बिनी विकास बैङ्कले ५६ करोड १६ लाख रुपियाँ, सांग्रिला डेभलपमेन्ट बैङ्कले ४८ करोड ४५ लाख रुपियाँ र महालक्ष्मी विकास बैङ्कले ४५ करोड ९९ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

नाफा बृद्धिदरका आधारमा भने लुम्बिनी विकास बैङ्क सबैभन्दा अगाडि रहेको छ । लुम्बिनीको नाफा अघिल्लो वर्षको तुलनामा १०२८.२५ प्रतिशतले बढेको छ । त्यस्तै, ज्योति विकास बैङ्कको नाफा १०५.३ प्रतिशत र शाइन रेसुंगा डेभलपमेन्ट बैङ्कको ५३.३८ प्रतिशतले बृद्धि भएको छ ।

यस्तै गरिमाको ४२.९१ प्रतिशत, मुक्तिनाथ ३०.०४ प्रतिशत, कामना सेवा १९.३७ प्रतिशत, सांग्रिला ११.५९ र महालक्ष्मीको ५.३६ प्रतिशतले नाफा बढेको छ ।

खर्च घट्दा नाफामा सुधार

विकास बैङ्कहरूको नाफा बृद्धि हुनुमा इम्पेरिमेन्ट चार्ज घट्नु प्रमुख कारणको रूपमा देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म चार अर्ब ९२ करोड रुपियाँ रहेको यस्तो खर्च चालु वर्षमा घटेर दुई अर्ब ८१ करोड रुपियाँ मा सीमित भएको छ । यसले बैङ्कहरूको नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ ।

त्यसैगरी, बैङ्कहरूको खुद ब्याज आम्दानी पनि बृद्धि भएको छ । अघिल्लो वर्ष १५ अर्ब ४५ करोड रुपियाँ रहेको खुद ब्याज आम्दानी चालु वर्षमा बढेर १६ अर्ब ४२ करोड रुपियाँ पुगेको छ । ब्याज आम्दानीमा भएको यो बृद्धि बैङ्कहरूको मूल आम्दानी स्रोत बलियो हुँदै गएको संकेत हो ।

प्रतिसेयर आम्दानी र लाभांश क्षमता

प्रतिसेयर आम्दानीका आधारमा गरिमा विकास बैङ्क नै अग्रस्थानमा रहेको छ । बैङ्कको वार्षिकीकृत २३.२१ रुपियाँ पुगेको छ । यसले बैङ्कको लाभांश वितरण क्षमता पनि बलियो रहेको संकेत गरेको छ ।

यता, वितरणयोग्य नाफाका आधारमा भने लुम्बिनी विकास बैङ्क अगाडि देखिएको छ । उक्त बैङ्कको प्रतिसेयर वितरणयोग्य नाफा १७.४८ रुपियाँ रहेको छ, जसले आगामी लाभांश घोषणामा आर्कषण बढाउन सक्छ ।


SHARE THIS