लण्डन । बेलायतमा नेपाली मूलका जीवनारायण बेल्बासे काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ ।
शुक्रबार सार्वजनिक मत परिणामअनुसार कन्जरभेटिभ पार्टी यूकेका उम्मेदवार बेल्बासेले अल्डरसट अन्तरगत म्यानर पार्क वार्डबाट ८९१ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी रिफर्म यूकेका उम्मेदवार तारन्तर किनले ६२३ मत प्राप्त गर्नुभएको थियो ।
भूतपूर्व नेपाल प्रहरीसमेत रहेका बेल्बासेको यो दोस्रो विजय हो । उहाँको जितसँगै बेलायतस्थित नेपाली समुदायमा खुशी छाएको छ ।
काउन्सिलर निर्वाचित बेल्वासेले लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसँग नजिक रहेर काम गर्दै आउनुभएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा जन्मेका बेल्बासे सन् २००१ देखि बेलायत बसाई शुरु गर्नुभएको थियो । त्यसअघि नेपालमा नेपाल प्रहरीमा अधिकृतको जागिरे बेल्बासे बेलायतमा गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) मा (२००५) मा आबद्ध भएर तीन कार्यकाल काम गरिसक्नुभएको छ । एनआरएनए यूकेमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्नुभएका उहाँ बेलायतवासी नेपालीहरुको साझा संस्था ग्रेटर रसमोर नेपाली कम्युनिटीमा पनि २००३ देखि नै आबद्ध हुनुहुन्थ्यो । ग्रेटर रसमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष समेत रहनुभएका बेल्बासेले स्थानीय समुदायमा पु¥याएको योगदानको कदरस्वरुप बीबीसी कम्युनिटी हिरो अवार्ड, ह्याम्पशायर हाई सेरिफ अवार्ड जस्ता प्रतिष्ठित सम्मान प्राप्त गरिसक्नुभएको छ ।

