सेयर बजारमा मौद्रिक नीतिले ल्याएन उत्साह

काठमाडौँ । सेयर बजारप्रति लचिलो नीति आए लगत्तै खुलेको सेयर बजारमा भने उत्साह देखिएन । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर बजारप्रति लचिलो नीति अवलम्बन गरिएको छ ।

तर सेयर बजार भने पाँच अंकले ओरालो लागेको छ । आइतबार साँझ सार्वजनिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैङ्कले सेयर कर्जामा जोखिम भार एक सय प्रतिशत कायम गरेको छ । यसअघि सेयर कर्जा जोखिम भार १२५ प्रतिशत थियो ।

सेयर धितो कर्जाको जोखिम भार घटाउनका लागि सेयर बजारका लगानीकर्ताहरुले लामो समयदेखि माग उठाउँदै आएका थिए । लगानीकर्ता भने तीन दिनपछि आउने बजेटको पर्खाइमा रहेको बताउँछन् ।

सत्ताइस सयको विन्दु पछ्याएको नेप्से परिसूचक फेरी २६ सयमै अल्मलिएको छ भने कारोबार रकम पनि साढे सात अर्बमा रहेको छ ।

सोमबार नेप्से ५.२१ ओरालो उकालो लाग्दा परिसूचक २६७४.७६ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अङ्कले ओरालो लागेर ४५६.०९ को विन्दुमा पुगेको छ । समग्रमा साताको दोस्रो दिनको नेप्से ०.१९ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स ०.०८ प्रतिशतले माथि लागेको छ ।

सोमबार ३३७ कम्पनीको एक करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ६९ हजार ६५१ पटक खरिद बिव्रmी हुँदा सात अर्ब ५८ करोड ५० लाख २२ हजार ५९० रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

साताको दोस्रो दिन ६४ करोड ३१ लाख ५० हजार ९०१ रुपियाँ बराबरको सेयर कारोबार भएर राधी विद्युत कम्पनी लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ ।

दोस्रो दिन कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमध्ये बैङ्किङ र उत्पादन तथा प्रशोधन बाहेक बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । निर्जीवन बीमाको परिसूचक भने स्थिर रहेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले ओरालो लागेको छ ।

पियोर इनर्जीको आइपीओ सूचीकृत

सोमबार नेपाल स्टक एक्सचेञ्जमा पियोर इनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ८० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले पियोर इनर्जीलाई पहिलो कारोबारका लागि न्यूनतम ९६.४५ रुपियाँदेखि अधिकतम २८९.३५ रुपियाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।

मङगलबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा यसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर खुला हुने कम्पनीले जनाएको छ । नेप्सेले यसको दोस्रो बजारमा कारोबारका लागि पीयुआरई संकेत दिएको छ ।

पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री गरेको थियो ।


SHARE THIS