काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।
दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिनुभएको थियो । सो अवसरमा आयोजना अन्तर्गतको ‘युनिट–२’ को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक बृक्षरोपण पनि गनुभएको थियो ।
उर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । “सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन, समयमै सम्पन्न गर्न लाग्नुहोस्,” उहाँले ठेकेदार कम्पनीलाई निर्देशन दिनु्भयो ।
भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुबै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो । “अरुण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,” उहाँले भन्नुभयो ।
अरुण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ । आयोजनाको शिलान्यास वि.सं. २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्नुभएको थियो । एक खर्ब चार अर्ब रुपियाँ लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाईड्रोपावरले निर्माण गरिरहेको छ । निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
मन्त्री खट्टर भ्रमणका क्रममा आज साँझ काठमाडौँमा लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम छ । नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने यी प्रसारण संरचनाले दुबै देशको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
भोली बुधवार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । भ्रमण पश्चात उहाँ बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम छ ।
यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत ऊर्जा सचिव सुरेश आचार्यले गर्नुभएको थियो । त्यसलगत्तै ऊर्जामन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गर्दै संखुवासभा प्रस्थान गर्नुभएको थियो ।