काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर दुईवटा आकर्षक एवं नवीनतम बीमा योजना सार्वजनिक गरेको छ । सातौं वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीले सनलाइफ मेडिकेयर र सुनौलो बाल समृद्ध जीवन बीमा योजना सार्वजनिक गरेको हो ।
सुनौलो बाल समृद्ध जीवन बीमा योजनामा प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ । यसमा बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा बीमांक रकम भुक्तानी हुनेछ र बीमितलाई बीमा अवधिसम्म बीमाङ्क रकमको दुई प्रतिशत सम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसमा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रुपियाँसम्म बीमा कम्पनीले व्यहोर्ने आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ ।
आपतकालीन अवस्थामा औषधिउपचार गर्न सहज होस् भन्ने हेतुले अघि सारिएको ‘सनलाइफ मेडिकेयर’ बीमा योजना नेपालमा पहिलोपटक शुभारम्भ गरेको कम्पनीको दाबी छ । अस्पताल भर्ना भएर गरिने औषधि उपचारमा एक लाख रुपियाँसम्म प्रदान गर्ने व्यवस्था रहेको यस योजना अन्तरगत आपतकालिन उपचार गर्दा यसबाट आम नेपाली नागरिकले लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले सन्देशमूलक भिडियो पनि लोकार्पण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत तयार गरिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देशहरु रहेका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले समग्र बीमा क्षेत्रको अवस्था, बीमाको आवश्यकता तथा महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा कम्पनीमा स्थापनाकाल देखी कार्यरत कर्मचारीहरुलाई कदरपत्र प्रदान गरिएको छ ।