केन्द्रीय बैंकहरूले आफूलाई समय अनुसार पुनः परिभाषित गर्नुपर्ने आवश्यकता

काठमाडौँ । भारतीय केन्द्रीय बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैंकहरु बलिया हुँदै गएका  कारण विश्वव्यापी आर्थिक संकटहरुको प्रतिरक्षा गर्न सम्भव भएको बताउनुभएको छ ।

प्रथम गभर्नर स्व. हिमालय शमशेर जबराको स्मृतिमा मङ्गलबार राजधानीमा आयोजित ‘‘२१ औं शताब्दीको केन्द्रीय बैंकिङः परिवर्तनशील प्याराडाइम’’ विषयक कार्यक्रममा उहाँले कोभिड १९ ले शिथिल बनाएको विश्व अर्थतन्त्रमात्र नभएर मूल्यबृद्धि नियन्त्रण, वित्तीय संकटलगायत आर्थिक संकटको सजिलै प्रतिरक्षा गर्न सफल भएको बताउनुभयो ।

समग्र आर्थिक विकासका लागि मौद्रिक नीति र वित्त नीतिबीच प्रभावकारी समन्वय हुनुपर्ने भएकाले केन्द्रीय बैंकहरुले त्यसतर्फ पनि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनले विभिन्न चुनौती ल्याइरहेकाले ती सामनाका लागि सरकारका अन्य निकायहरुसँग प्रभावकारी सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

कृत्रिम बौद्धिकता –एआई) र मेसिन लर्निङ –एमएल) उपकरणहरूको प्रयोगले ठूलो सम्भावना बोकेको भन्दै उहाँले यसले डाटा गोपनीयता, एल्गोरिदम र भेदभाव, साइबर सुरक्षा र नैतिक मुद्दाहरू जस्ता चुनौतीहरू पनि उत्पन्न गर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

केन्द्रीय बैंकहरूले आफूलाई समय अनुसार पुनः परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो ‘‘उनीहरूले भविष्यका जोखिमहरूको अनुमान गर्नुपर्छ र सम्भावित जोखिमहरूलाई रोक्न वा कम गर्न उपयुक्त पूर्व सावधानीका उपायहरू अपनाउनुपर्छ । केन्द्रीय बैंकहरूले आफ्ना वित्तीय प्रणाली र अर्थतन्त्रलाई २१ औं शताब्दीका उदीयमान चुनौतीहरूबाट जोगाउन अग्रणी भूमिका निर्वाह गर्नेछन् भन्ने विश्वास गर्न सकिन्छ ।’’

हरेक संकटले नयाँ पाठ र विचारहरू ल्याउने भन्दै उहाँले आर्थिक सिद्धान्त र नीतिहरू प्रत्येक संकटबाट प्राप्त अनुभव र सिकेका पाठहरूसँगै विकसित भएको बताउनुभयो । केन्द्रीय बैंकहरूले पनि आफ्नो भूमिकालाई समय अनुसार परिमार्जन गर्दै जानुपर्ने आवश्यकता औंल्याउँदै आरबीआइका गभर्नर दासले भन्नुभयो – ‘‘यसरी नै केन्द्रीय बैंकहरूले २१औं शताब्दीका चुनौतीहरूको सामना गर्दै अर्थतन्त्र र वित्तीय प्रणालीको स्थिरता कायम राख्न सक्षम हुनेछन् ।’’

कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रथम गभर्नर स्व. हिमालय शमशेर जबरा योगदान र भूमिका बारेमा चर्चा गर्नुभएको थियो ।

नेपालका प्रथम गर्भनर हिमालय शमशेर जबराको २०७९ माघ २२ गते निधन भएको थियो । उहाँ २०१३ साल वैशाख १४ गते नेपालको पहिलो गभर्नर नियुक्त हुनुभएको थियो । उहाँको पालामा निर्धारण गरिएको भारतीय रुपियाँ (भारु) को विनिमय दर १०० को १६० रुपियाँ अहिले पनि कायम रहेको छ ।

राष्ट्र बैंकले पहिलो पटक आयोजना गरेको स्मिृति कार्यक्रममा आरबीआईका गभर्नर दास प्रमुख अतिथिका रुपमा नेपाल आउनुभएको हो । यसका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दासलाई विशेष निमन्त्रणा गर्नुभएको थियो ।


SHARE THIS