कारोबार रकम र कुल बजार पूँजीकरणमा नयाँ रेकर्ड : कारोबार २७ अर्ब र परिसूचक साढे २९ सयमाथि

काठमाडौँ । दैनिक उचाई लिएको सेयर बजारमा कारोबार रकम र कुल बजार पूँजीकरणले सोमबार पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार परिसूचक, कारोबार र पूँजीकरणमा आइतबारको रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड कायम भएको हो ।

सोमबार नेप्से ७०.८१ अङ्कले उकालो लागेर २९३१.६५ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.५६ अङ्कले उकालो लागेर ५१२.४७ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो दिनको नेप्से २.४७ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स २.१० प्रतिशतले उकालो लागेको छ । आइतबार नेप्से ९४.४६ अङ्कले उकालो लागेर २८६०.८४ को विन्दुमा पुगेर रोकिएको थियो ।

सेयर बजारमा सोमबार अहिलेसम्मको उच्च भएको कारोबार भएको छ । सोमबार ३३९ कम्पनीको छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर दुई लाख ८३ हजार ४७ पटक खरिद बिव्रmी हुँदा २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ४७ करोड रुपियाँले बढी हो ।

आइतबार ३३० कम्पनीको छ करोड तीन लाख २१ हजार ३२३ कित्ता सेयर दुई लाख ७५ हजार २०७ पटक खरिद बिव्रmी हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

दोस्रो दिनको कारोबारमा सातवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यता कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

अघिल्ला दिनहरुमा अग्रता कायम गरिरहेको हिमालयन रिइन्स्योरेन्स लिमिटेड सोमबार पनि अगाडि लागेको छ । दोस्रो दिन एक अर्ब २२ करोड ८० लाख ७२ हजार ४०३ रुपियाँ बराबरको सेयर कारोबार भएर हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यस्तै शिवम् सिमेण्ट्सको ९२ करोड २८ लाख ८६ हजार ३५१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको सेयर बजारमा जीवन बीमा, फाइनान्स र व्यापार उपसमूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । लगानी र उत्पादन तथा प्रशोधनबाहेक बाँकी ११ उपसमूहको परिसूचक उकालो लागेको छ । साताको दोस्रो दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशतले उकालो लागेको छ । यस्तै फाइनान्स ४.८१ प्रतिशत, व्यापार ४.१३ प्रतिशत, जलविद्युत ३.४३ प्रतिशत, विकास बैंक ३.०६ प्रतिशत, निर्जीवन बीमा २.९७ प्रतिशत, बैंकिङ २.९५ प्रतिशत, होटल तथा पर्यटन २.८७ प्रतिशतले उकालो लागेको छ ।

नेप्सेको बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार ३१६ रुपियाँ पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो । यसअघि आइतबार नेप्सेको बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब तीन करोड ३२ लाख ७३ हजार तीन सय रुपियाँ पुगेको थियो ।


SHARE THIS