काठमाडौँ । नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करिब तीन खर्ब रुपियाँ पुग्न लागेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी दुई खर्ब ९५ अर्ब ५० करोड रुपियाँ कायम रहेको हो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा मौज्दात ११.८ प्रतिशतले बृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंक अन्तरगत आर्थिक अनुसन्धान विभागले शुक्रबार सार्वजनिक गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८०’ अनुसार कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिती ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । गएको वर्ष २०८० असार मसान्तसम्ममा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जलविद्युत क्षेत्रमा बढी
औद्योगिक क्षेत्रअन्तरगत जलविद्युत क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तरगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिएको छ ।
वाग्मती प्रदेशमा सबैभन्दा बढी
नेपालमा भित्रने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये प्रदेशगत आधारमा सबैभन्दा बढी वाग्मती प्रदेशमा ५९.७ प्रतिशत रहेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९÷८० मा उल्लेख छ । त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
भारतबाट सर्वाधिक
नेपालमा भित्रने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये भारतबाट सबैभन्दा बढी एक खर्ब तीन अर्ब ४५ करोड रुपियाँ नेपाल भित्रिएको छ । यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हो । भारतपछि चीनबाट ३५ अर्ब ४६ करोड, आयरल्याण्डबाट २२ अर्ब ६२ करोड, अष्ट्रेलियाबाट १९ अर्ब छ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८० मा देखिएको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको राष्ट्र बैंक अन्तरगत आर्थिक अनुसन्धान विभागले जनाएको छ ।
राष्ट्र बैंकको प्रतिवेदनका अनुसार वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको छ ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्ता लगानीका क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ बटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ’प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको हो ।