काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपियाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपियाँ घटाएको जनाएको छ ।
निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपियाँ रहेकामा एक सय ६२ रुपियाँ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६९ रुपियाँ रहेकामा एक सय ६४ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ७० रुपियाँ रहेकामा एक सय ६५ रुपियाँ कायम गरिएको छ ।
साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रुपियाँ रहेकामा एक सय ५२ रुपियाँ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि एक सय ५७ रुपियाँ रहेकामा एक सय ५४ रुपियाँ र तेस्रो वर्गका लागि एक सय ५८ रुपियाँ रहेकामा एक सय ५५ रुपियाँ कायम गरिएको निगमले जनाएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।