सबैभन्दा ठूलो व्यवसाय बनाउँदै देशको अग्रणी कम्पनी बन्न आग्रह

राष्ट्रिय बीमा कम्पनी ११ औं वर्षमा प्रवेश

काठमाडौँ । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेड स्थापनाको ११ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीको ११ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारी स्वामित्वको एकमात्र निर्जीवन बीमा कम्पनीका रुपमा कार्य गर्दै आएको कम्पनीले आफ्नो विगतका कार्य प्रगतिहरुको समीक्षा गर्दै नेपालको निर्जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न प्रयत्नशील रहन आग्रह गर्नुभयो ।

सरकारी स्वामितवको कम्पनी भएकाले सबैभन्दा ठूलो व्यवसाय बनाउँदै देशको अग्रणी कम्पनी बन्न उहाँको आग्रह थियो । नियामकले तोकेको पूँजी पु-याउने, रोकिएको लेखापरीक्षण समयमै सम्पन्न गरी संस्थाको विश्वसनियता माथि उठाउनेगरी काम गर्न पनि उहाँको आग्रह थियो ।

कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले पाँच दशकभन्दा लामो निर्जीवन बीमा व्यवसायको इतिहास बोकेको कम्पनीले देशमा बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूण योगदान गर्दै आइरहेको बताउनुभयो ।

कम्पनीले बीमा व्यवसायको विस्तार र सुदृढीकरणमा अग्रणी भूमिका खेल्दै प्रतिस्पर्धात्मक बजारमा कम्पनीको दरिलो उपस्थितिका लागि विविध जटिलता, कठिनाई, चुनौति एवम सम्भावनाहरु सँगसँगै जोडिएको उहाँले बताउनुभयो ।

कम्पनीले आ.व. २०६८÷०६९ देखि आ.व. २०७२÷०७३ सम्मको वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने आ.व. २०७३÷०७४ र आ.व. २०७४÷०७५ को वित्तीय विवरणहरू तयार भई सम्बन्धित नियामक निकायहरूबाट स्वीकृतिको चरणमा रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।

यसै आर्थिक वर्ष भित्रमा कम्तीमा दुई आर्थिक वर्षहरूको साधारणसभा गर्ने प्रतिवद्धता व्यक्त गर्दै आ.व. २०७६÷०७७ को अन्तिम लेखापरीक्षण भइरहेको, बीमाङ्कीय मूल्याङ्कन सहित आ.व. २०७७÷०७८ र आ.व. २०७८÷०७९ को अन्तिम लेखापरीक्षण यथाशीघ्र प्रारम्भ गर्ने र उक्त आर्थिक वर्षहरूका साधारणसभा समेत सम्पन्न गर्ने अथक प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठले सरकारले लिएको बीमा सम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सहयोगीको रूपमा भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रमहरू मार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताउनुभयो ।

व्यावसायिक अवसरहरूलाई आफ्नो पक्षमा सुनिश्चित गर्न र नयाँ व्यावसायिक क्षेत्रहरूको पहिचान गरी व्यवसाय विस्तार, कार्यदक्षता र व्यावसायिकता अभिवृद्धि गर्न कम्पनी निरन्तर लागि परेको उहाँले बताउनुभयो । बाँकी रहेका लेखापरीक्षण कार्य, चुक्ता पुँजी बृद्धि, जग्गा प्राप्ति र भवन निर्माण तथा व्यवसाय बृद्धि कार्यहरू समेत विशेष रूपबाट सम्पन्न गर्न अति सक्रियताका साथ लागि परेको उहाँको भनाई थियो ।

कम्पनीले स्थापना कालदेखि व्यवसाय अभिबृद्धिमा जोड दिएको फलस्वरूप व्यवसायमा क्रमशः बृद्धि गर्दै मुनाफा आर्जन गर्न सफल भएको उहाँले बताउनुभयो ।

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले गुणस्तरीय सेवा र दाबी भुक्तानीका लागि मुख्य गरी जोखिमाङ्कन विभाग र पुनबीमा विभागलाई मजवुत बनाउनुपर्नेमा जोड दिनुभयो । यसका लागि कर्मचारीको उचित व्यवस्थापनमा ध्यान दिन पनि उहाँको सुझाव थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक नवराज अधिकारी, कम्पनीका सञ्चालक तथा नेपाल बैंकका प्रमुख वित्त अधिकारी प्रकाश अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालालगायतको सहभागिता रहेको थियो ।

बीमा क्षेत्रको विकासमा अग्रणी एवं नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको साबिकको राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसायलाई अलग संस्था स्थापना गरी सञ्चालन गर्ने नेपाल सरकारको निर्णय वमोजिम २०७१ साल जेठ २८ मा राष्ट्रिय बीमा कम्पनी लिमिटेड स्थापना भएको हो। कम्पनीले २०७१ साल असार २७ गते बीमा समितिवाट निर्जीवन बीमकको इजाजत प्राप्त गरी २०७१ साल साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।


SHARE THIS