आन्तरिक पर्यटनमा नेपालीको आकर्षण बढ्दो, अर्थतन्त्रमा २.६५ प्रतिशत योगदान

काठमाडौं / नेपालका आधाभन्दा बढी घरपरिवार कुनै न कुनै रूपमा पर्यटन गतिविधिमा सहभागी रहेको र आन्तरिक पर्यटनले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २.६५ प्रतिशत योगदान पुर्‍याएको तथ्य सार्वजनिक भएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२ अनुसार देशभरका ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार अर्थात् ५२.४ प्रतिशत घरपरिवारले सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएका छन्। सर्वेक्षणले नेपालमा आन्तरिक पर्यटनको वास्तविक आकार, खर्चको ढाँचा तथा अर्थतन्त्रमा यसको योगदानबारे पहिलो पटक राष्ट्रियस्तरको विस्तृत तथ्याङ्क प्रस्तुत गरेको हो।

सर्वेक्षणअनुसार सोही दिन फर्किने आन्तरिक भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा ३२.६ प्रतिशत छ। स्वास्थ्य उपचार तथा साथीभाइ–आफन्त भेटघाटको हिस्सा समान रूपमा २०.१ प्रतिशत रहेको छ। रात बिताउने भ्रमणमा भने साथीभाइ तथा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा ६५.५ प्रतिशत छ।

रात बिताउने आन्तरिक भ्रमणको औसत अवधि ५.३३ दिन रहेको छ भने एक पर्यटकले वर्षमा औसत ४.८१ पटक यस्ता भ्रमण गर्ने गरेको सर्वेक्षणले देखाएको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम र मधेश प्रदेशमा औसत बसाइ अवधि सबैभन्दा बढी ८.१८ दिन रहेको छ भने गण्डकी प्रदेशमा वार्षिक भ्रमण संख्या सबैभन्दा बढी ६.२६ पटक रहेको छ।

पर्यटक घरपरिवारमा युवा पुस्ताको उल्लेख्य सहभागिता देखिएको छ। जेनेरेसन जेड (१३–२८ वर्ष) को हिस्सा २६.६ प्रतिशत रहेको छ भने जेनेरेसन अल्फा तथा विटा (०–१२ वर्ष) को हिस्सा २२.६ प्रतिशत छ। सर्वेक्षणले युवा उमेर समूह अन्य उमेर समूहको तुलनामा बढी पटक भ्रमण गर्ने गरेको पनि देखाएको छ।

रात बिताउने आन्तरिक पर्यटनका प्रमुख गन्तव्य जिल्लामा काठमाडौं, चितवन र कास्की रहेका छन्। बिदा तथा मनोरञ्जनका लागि गरिने भ्रमणमा कास्की सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ।

सर्वेक्षणले बाह्य पर्यटनको अवस्थाबारे पनि जानकारी दिएको छ। सन्दर्भ अवधिमा नेपाली बासिन्दाले ६ लाख २० हजार रात बिताउने तथा २ लाख ९३ हजार सोही दिन फर्किने बाह्य भ्रमण गरेका छन्। बाह्य भ्रमणमा किनमेल र धार्मिक उद्देश्य प्रमुख रहेको देखिएको छ।

पर्यटकीय खर्चको विश्लेषणअनुसार नेपाली घरपरिवारले पर्यटनसम्बन्धी गतिविधिमा कुल ४ खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ खर्च गरेका छन्। यसमध्ये आन्तरिक रात बिताउने भ्रमणमा मात्र ३ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। स्वास्थ्य उपचारसम्बन्धी भ्रमणमा कुल खर्चको ३१.७८ प्रतिशत खर्च भएको छ, जुन सबैभन्दा उच्च हिस्सा हो। खर्चका शीर्षकमध्ये किनमेलमा २६ प्रतिशत खर्च भएको पाइएको छ।

पर्यटन स्याटलाइट लेखा (टीएसए) को ढाँचाअनुसार आन्तरिक पर्यटनबाट सिर्जित कुल पर्यटकीय उपभोग ४ खर्ब ७ अर्ब १७ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ। यसबाट ३ खर्ब ३१ अर्ब ८४ करोड रुपैयाँ बराबरको उत्पादन सिर्जना भएको र कुल पर्यटन मूल्य अभिवृद्धि १ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ पुगेको सर्वेक्षणले देखाएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आन्तरिक पर्यटनको विस्तारले आर्थिक गतिविधि, रोजगारी सिर्जना तथा क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। कार्यालयले सर्वेक्षणका नतिजा पर्यटन नीति निर्माण, पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण आधार सामग्री बन्ने अपेक्षा गरेको छ।


SHARE THIS