सहकारीमा सुशासन कायम गर्न लेखा समितिको गोष्ठी गर्दै नेफ्स्कून

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजनामा लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठी हुने भएको छ । आगामी  वैशाख २५ र २६ गते काठमाडौंमा ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने थिमका साथ आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

गोष्ठीले लेखा समितिमा रहेका व्यक्तिहरुको ज्ञान, सीप र क्षमतामा विकास गरी संस्थागत सुशासन कायम गर्न टेवा पु¥याउने अपेक्षा लिइएको नेफ्स्कुनका सीइओ डा. शिवजी सापकोटाले जानकारी दिनुुभयो ।

गोष्ठीमा लेखा समितिको भूमिका, जिम्मेवारी, जवाफदेहिता र विश्व अभ्यास जस्ता विषयलाई समेटेर कार्यपत्रहरु प्रस्तुत गरिने हुँदा सहभागिहरुका लागि गोष्ठी उपलब्धीमूलक हुने उहाँको दाबी छ । गोष्ठीमा विश्व ऋण परिषद्, एशियाली ऋण महासंघ, नेपाल राष्ट्र बैंक, आईक्यान र सहकारी विभागका साथै अभियानका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने उहाँले बताउनुुभयो । गोष्ठीबाट संस्थाहरुलाई सुशासनमा हिडाउन र लेखा समितिमा रहेका व्यक्तिहरुको क्षमता विकासमा टेवा पुग्ने उहाँको भनाई छ ।

लेखा समितिको चासो र क्षेत्रहरुको बुझाइ एवम् प्रभावकारीता बृद्धि गरी संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति गर्ने, संस्थागत परीक्षणका क्षेत्र, विधि, प्रक्रिया र प्रतिवेदन प्रणालीमा एकरुपता कायम गरी परीक्षणमा जिम्मेवार पक्षहरुबीच प्रभावकारी सम्बन्ध विकास गर्ने र सुरक्षित साकोस निर्माणका राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय औजारहरुको आन्तरिकीकरण गर्ने उद्देश्य गोष्ठीको रहेको छ ।

साकोस अभियानको नियामकीय दृष्टिकोणबाट विद्यमान समस्याको पहिचान गरी सम्बद्ध पक्षहरुको भूमिका स्पष्ट गर्ने, वित्तीय सहकारीको आन्तरिक नियन्त्रण प्रणालीका विश्व अभ्यास र नेपालको वित्तीय क्षेत्रका अभ्यासहरुको जानकारी प्राप्त गरी आगामी कार्यदिशा तय गर्ने तथा सहकारी क्षेत्रको चुनौतीपूर्ण अवस्थामा लेखा समिति लगायत नेतृत्व तहमार्फत समाधानका सम्भावना पहिचान गर्न गोष्ठी सहयोगी बन्ने नेफ्स्कूनको विश्वास छ  ।

गोष्ठीमा लेखा समितिका संयोजक, सदस्य एवम आन्तरिक लेखा परिक्षकलाई समेटिने जनाइएको छ । गोष्ठीमा सहभागिताका लागि बैशाख २० गतेसम्म नाम दर्ता गरि सक्नुपर्ने छ ।

साकोस अभियानको संस्थागत सुशासन प्रभावकारी बनाउन आन्तरिक नियन्त्रण प्रणालीको मुख्य पक्ष लेखा सुपरिवेक्षण समितिको साझा एवम् स्तरीय बुझाइ विकास गर्ने उद्देश्यले २०७३ सालमा पहिलो पटक यस्तो गोष्ठी आयोजना गरेको थियो ।


SHARE THIS