काठमाडौंमा ग्रील तथा स्टील व्यवसायीहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुरु

काठमाडौँ । ग्रील तथा स्टील व्यवसायीहरुको काठमाडौंमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता शुरु  भएको छ । बुधबारदेखि कपन बालुवा खानीमा रहेको फुटसलमा शुरु भएको दुई दिने फुटबल प्रतियोगितामा काठमाडौंका ग्रील तथा स्टील व्यवसायीहरु सहभागी छन् ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि तथा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले यस्ता कार्यक्रमहरुले वास्तवमै ग्रील तथा स्टील व्यवसायीहरुको मनोबल उच्च बनाउन भरपुर मद्दत गर्ने अपेक्षा व्यक्त गर्नुभयो । स्वास्थ्यको लागि खेल, मनोरञ्जनको लागि खेल भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्रतियोगितामा सहभागिता जनाउने सबै टिमलाई उहाँले धन्यवाद दिनुभयो ।

यो प्रतियोगिताको आयोजनाले कतिपय निरन्तर कार्यक्रमहरुको क्रमभंगता गदैं ग्रील तथा स्टील व्यवसायी संगठनलाई एक कदम अगाडी बढ्ने बाटो देखाइदिएको भन्दै अध्यक्ष श्रेष्ठले सम्भव छ केहि गरौं भन्ने भावना पैदा गराएको बताउनुभयो ।

यस्तै किसिमका विभिन्न कार्यक्रमहरु मार्फत ग्रील तथा स्टील व्यवसायीहरुलाई एकताबद्ध बनाउन मातहतका सबै संगठनहरुलाई आग्रह गर्दे महासंघको तर्फबाट हुन सक्ने र गर्न सकिने सहयोगमा कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता समेत महासंघका अध्यक्ष श्रेष्ठले जनाउनुभयो ।

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका महासचिव बिवेकदास श्रेष्ठको मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई ग्रील तथा स्टील व्यवसायीहरुको महोत्सव र पर्वको रुपमा लिएको भन्दै कार्यक्रमलाई भब्य र सभ्यताका साथ सफल पार्न सबै व्यवसायीहरुको कर्तव्य ठानेर सफल पार्नेतर्फ  लाग्न आग्रह गर्नुभयो । सधै काममै व्यस्त रहने व्यवसायीहरुको सुख र दुःख आदानप्रदान गर्ने अवसरका रुपमा मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई लिइएको उहाँको भनाई थियो ।

प्रतियोगिताका लागि महासंघको तर्फबाट आवश्यक परेका बखत सहयोग र सहकार्य गर्न महासंघ तयार रहेको भन्दै सम्पूर्ण व्यवसायीहरुलाई सक्रिय सहभागिता जनाउन पनि महासंघका महासचिव श्रेष्ठले आग्रह गर्नुभयो ।

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा मैत्रिपुर्ण फुटबल प्रतियोगिता गरिएको ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति, दुई वटा क्षेत्रिय समिति, काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।

प्रतियोगितामा धेरै टिम सहभागि भएकोले नकआउटको आधारमा खेल खेलाइने हुँदा जम्मा १५ खेलमा प्रतियोगिता सम्पन्न हुने प्रतियोगिताका व्यवस्थापक महेश श्रेष्ठले जानकारी गराउनुभयो । प्रतियोगिताको पुर्ण व्यवस्थापनको जिम्मा महेश श्रेष्ठले लिने तथा प्रतियोगिता अन्तर्गतका सबै खेलहरुमा सिनियर (मुख्य) रेफ्रीको रुपमा उत्तरकुमार सुनारले भुमिका निर्वाह गर्ने निर्णय गरिएको आयोजक संस्थाले बताएको छ ।






SHARE THIS