आगामी असोज अन्तिम साता लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना हुँदै

ललितपुर । आगामी असोज अन्तिम साता लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० आयोजना हुने भएको छ ।

‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने मूल नाराका साथ असोज २५ र २६ गते काठमाडौमा गोष्ठी आयोजना हुन लागेको हो ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड (एन.सि.बि.एल.) को आयोजना रहेको गोष्ठिमा सहकारी संघ÷संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, सहकारी र सहकारीका सरोकारवाला निकायहरुका प्रतिनिधिहरु र इच्छुक व्यक्ति तथा संघ÷संस्थाका प्रतिनिधीहरू गरि ५ सय जनासम्मको सहभागीता रहने बताइएको छ ।

सहकारी संघ÷संस्थाहरुको आर्थिक अवस्था, संस्थागत विकास र सन्तुलित वित्तीय कारोबारमा लेखा सुपरीवेक्षण समितिको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पु-याउने उद्देश्यले गोष्ठी आयोजना गरिने बैंकका अध्यक्ष के.बी उप्रेतीले बताउनु भयो ।

उहाँका अनुसार गोष्ठीमा लेखा सुपरीवेक्षण समितिले तयार गर्ने प्रतिवेदनको ढाँचा र प्रतिवेदनमा समावेश गर्ने विषयहरुमा छलफल हुने छ । सहकारीमा स्वनियमन र संस्थागत सुशासन अभिवृद्धिका लागि लेखा सुपरीवेक्षण समितिको सक्रिय भूमिकाको बारेमा स्पष्ट मार्गदर्शन प्रदान गरि सहकारीमा जोखिम व्यवस्थापन र वित्तीय अनुशासनका लागि लेखा सुपरीवेक्षण समितिको स्पष्ट कार्यदिशा तय गर्न गोष्ठिले सहयोग पुग्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

बैंकले पहिलो पटक गर्न लागेको गोष्ठीमा सहकारी संघ/संस्थाहरुको आन्तरिक नियन्त्रणका लागि प्रभावकारी औजार तथा प्रणाली विकासका सम्बन्धमा बहस र छलफल हुने छ । दुई दिनसम्म सञ्चालन हुन गइरहेको राष्ट्रिय गोष्ठीमा राष्ट्रिय/अन्तराष्ट्रिय विषय विज्ञहरुको सहजीकरण रहने बैंकको लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले बताउनुभयो ।


SHARE THIS