काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोटको नलगाड नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतापछि नगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारीस गर्ने छ ।
नगरपालिकाले सीफारीस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तरगत कर्जा लगानी गर्ने बैंकले जनाएको छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तरगतको कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।
सम्झौता समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यो सम्झौताले कर्णाली प्रदेशमा बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा लगानी गरेको बताउनुभयो । नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले नगर क्षेत्र कृषिको पकेट क्षेत्र भएकाले कृषि उत्पादनमा सहयोग पूग्ने बताउनुभयो ।
कर्णाली प्रदेशका पूर्व मन्त्री गणेशप्रसाद सिंहले बैंकको सहुुलियतपूर्ण कर्जाले जनताको जीवनस्तर उकास्ने बताउनुभयो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पु-याइरहेको बताउनुभयो ।